काठमाडौँ, २० माघ । महिलालाई पाठेघरको मुखको क्यान्सर छ भनेर हेला त गर्नुभएको छैन ? पुरुषका कारण पनि यो रोग लाग्न सक्ने विशेषज्ञहरू बताउँछन् । परोपकार प्रसूूति तथा स्त्रीरोग अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जति महिलाले आफ्नो स्वास्थ्यका लागि हेरचाह गर्नुपर्ने हुन्छ, त्यति नै पुरुष वा श्रीमान्ले पनि सरसफाइ र स्वास्थ्यमा ध्यान दिनुपर्ने जानकारी दिइन् ।
उनले पाठेघरको मुखको क्यान्सर (सर्भिक्स क्यान्सर) महिला तथा पुरुषमा शिक्षा र चेतनाको कमीले हुने गरेको बताइन् । डा. सुवेदीका अनुसार धेरै बिरामी यस्ता पनि आएका छन्, जो महिलामा क्यान्सर भएको पुष्टि भएपछि आफ्नो श्रीमान्ले छोड्ने गरेका छन् । जुन समयमा पतिको सहयोग, साथ र आत्मीयता आवश्यक भएको बेला श्रीमान्ले छोड्ने गरेका बिरामी पनि धेरै रहेकाे उनले बताइन् ।
“पाठेघर क्यान्सरको मुख्य कारण भनेको ‘ह्युमन पापिलो’मा भाइरसले हुने हो, महिलामा यो भाइरस आफैँ आउने होइन, पुरुषबाटै सर्ने हो । असुरक्षित यौन सम्पर्क, सरसफाइमा कमी, पुरुषले एकभन्दा बढी महिलासँग शारीरिक सम्बन्ध राख्नेजस्ता कारणबाट भाइरस सर्ने हुन्छ,” डा. सुवेदीले प्रस्ट पार्दै भनिन् ।
शारीरिक सम्पर्कका क्रममा छालाबाट छालामा भाइरस फैलिने चर्चा गर्दै उनले कण्डमकै प्रयोगबाट पनि यो भाइरस रोक्न कठिन हुने भएकाले सरसफाइ र धेरैसँग शारीरिक सम्पर्क नराख्नु नै यसबाट बच्ने उपाय हो । मद्यपान एवं धूमपान सेवन गर्ने, खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलामा यो रोग लाग्ने सम्भावना बढी हुने डा. महर्जनकोे भनाइ छ ।
एक अध्ययनले २६ हजारदेखि ४५ हजार नेपाली महिलालाई भविष्यमा पाठेघरको क्यान्सर हुन सक्ने सम्भावना देखाएको डा. महर्जनले जानकारी गराए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक वर्ष पाँच लाख महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ । तीमध्ये दुई लाखको मृत्यु हुन्छ।
नेपालमा बर्सेनि कति महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ र कतिको मृत्यु हुन्छ भन्ने यकिन तथ्याङ्क छैन तर विभिन्न अस्पतालमा उपचार गराउन आएका महिलाको तथ्याङ्क हेर्दा बर्सेनि एक हजार महिलाको मृत्यु हुने गरेको स्त्री तथा क्यान्सर रोग विशेषज्ञहरूको अनुमान छ ।
डा. सुवेदीले नेपालमा पनि ह्युमन पापिलोमा भाइरस सङ्क्रमणविरुद्धको खोप ल्याउन सकेको खण्डमा धेरैलाई पाठेघरको क्यान्सरबाट बचाउन सकिने धारणा व्यक्त गरिन् । “कम विकसित देशमा अझै पनि पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये पहिलो नम्बरमा छ,” भक्तपुर क्यान्सर अस्पतालको स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. एलिजा श्रेष्ठको भनाइ छ ।
३० देखि ६० वर्ष उमेर समूहका महिलालाई सताइरहेको पाठेघर क्यान्सरको बेलैमा परीक्षण गर्ने हो भने भविष्यमा रोग लाग्नबाट सुरक्षित रहन सकिन्छ । पाठेघरको क्यान्सरका लक्षण फरक–फरक हुन्छन् ।
डा. श्रेष्ठका अनुसार कसैलाई सेतो र गन्हाउने पानी बग्ने, कहिलेकाहीँ सेतो पानीमा रगत मिसिएर आउने हुन्छ । रोगले जटिल रूप लिँदै जाँदा पहिलेको भन्दा धेरै पानी बग्ने, पानी गन्हाउने, पटक-पटक सङ्क्रमण हुने र पानीमा रगतसमेत मिसिएको समेत हुन सक्छ ।
महिनावारी नभएको समयमा पनि रगत देखा पर्ने यस रोगको प्रमुख लक्षण हो । चिकित्सकका अनुसार क्यान्सरले एक चरण पार गरेपछि मात्र लक्षण देखिने हुँदा यसको नियमित जाँच पहिलो आवश्यकता हो । “परीक्षण सबै स्वास्थ्य संस्थामा उपलब्ध गराउने हो भने पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न सकिन्छ, गाउँगाउँमा स्क्रिनिङ क्याम्पसमेत चलाउन सकिन्छ,” डा. सुवेदीले भनिन् ।




