पाल्पा, २१ माघ । पाल्पाको रामपुरका युवाले वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलु खेती रोजेका छन् । रामपुर नगरपालिका–६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक आलु खेतीमा लागेका हुन् ।
वैदेशिक रोजगारमा रहँदा कोरोनाको महामारी खेपेका युवा गाउँ फर्केपछि चुनौतीलाई अवसरमा बदल्दै आयआर्जनका लागि आलु खेती गरेका हुन् । युवाले करीब एक सय रोपनी क्षेत्रफलको जग्गा भाडामा लिएर आलु खेती शुरु गरका छन् ।
ट्वान्टी ट्वान्टी समूहमा वैदेशिक रोजगारबाट गाउँ फर्केका, विभिन्न पेशा व्यवसायमा आबद्ध युवामात्र आबद्ध छन् । आलु खेतीमा प्रोत्साहन गर्दै वडा कार्यालयले दश बोरा तथा कृषि ज्ञान केन्द्र पाल्पाले एक सय बोरा जनकदेव र कार्डिनल जातको ५० प्रतिशत बीउ अनुदान उपलब्ध गराएको छ । अहिले युवाले शुरु गरेको आलु खेती उदाहरणीय पनि बनेको छ । एकै ठाउँमा ठूलो क्षेत्रफलमा आलु फलेपछि हेर्न आउने र तस्बिर लिनेहरू पनि बढेका छन् ।
कोभिड–१९ को बन्दाबन्दीको समयमा जापानबाट गाउँ फर्किएका युवा बद्री लम्सालले रामपुरको पहिचान बढाउन र आयस्रोत वृद्धिका लागि युवाहरू मिलेर सामूहिक खेती गरेको बताउँछन् । विदेशमा दैनिक आठदेखि दश घण्टाको समय काम गर्न बाध्य युवा अहिले घरपरिवारका साथमा रहेर स्वतन्त्ररूपमा काम गर्न पाउँदा उत्साहका साथ कृषि कार्यमा जुटेका छन् ।
कोभिड–१९ ले विश्वव्यापीरूपमा स्वास्थ्यमा नराम्रो असर पारे पनि आफूहरू जस्ता गाउँका युवालाई भने नयाँ कृषि कार्य गर्ने अवसर सिर्जना भएको कोरियाको रोजगारबाट फर्किएका युवा सन्तोष देवकोटाले बताए । सबै क्षेत्रमा आबद्ध रहेका यहाँका युवाले शुरु गरेको सामूहिक आलु खेती नमूना बनेको छ । ब्लक क्षेत्रअन्तर्गत यहाँका विभिन्न महिला समूह, आमा समूह, कृषि समूहले पनि समूहमा नै आलु खेती गरेका छन् ।
सामूहिक कार्यले एक अर्काबीच अनुभव साटासाट गर्ने, नयाँ कुरा सिक्ने अवसर मिलेको आत्मनिर्भर महिला कृषक समूहका उमा भट्टराईको अनुभव छ । विजयपुर कृषि सहकारीले खेती लगाउने समयमा नै मल बीउबिजन उपलब्ध गराएकाले पनि कृषि कार्यमा कृषकलाई सजिलो परेको छ ।
एक सय रोपनी क्षेत्रफलमा करीब छ सय मेट्रिक टन आलु उत्पादन हुने वडा सदस्य तथा ट्वान्टी ट्वान्टी समूहका आलु लगाउने कार्यक्रम संयोजक यमबहादुर भुजेल बताउँछन् । युवाले आलु खेतीका लागि बीउ अनुदानबाहेक करीब छ लाख बराबरको लगानी गरेका छन् । एकै वडाभित्र करीब एक हजार दुई सय रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक आलु खेती गरिएको छ । रामपुर नगरपालिका–६ र कृषि ज्ञान केन्द्र पाल्पाको सहयोगमा एकै ठाउँमा लगाइएको आलु फस्टाउन थालेको छ ।




