काठमाडौँ, २३ माग । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म २३ हजार मेट्रिक टन धान खरिद गरेको जनाएको छ । विगत वर्षभन्दा एक साता ढिला गरेर धान खरिद गर्न सुरु गरेको कम्पनीले यो वर्ष ६० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म २३ हजार २५२ मेट्रिक टन खरिद गरेको हो ।
कम्पनीका अनुसार अहिलेसम्म सबैभन्दा बढी मोटा धान लगभग साढे ११ हजार मेट्रिक टन र मध्यम धान लगभग १० हजार मेट्रिक टन र मसिनो लगभग ९० मेट्रिक टन खरिद भएको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले महेन्द्रनगर, नेपालगन्ज, राजापुर, धनगढीबाट मोटा र बिर्तामोड, विराटनगर, लाहान र जनकपुरबाट मध्यम वा सोना मन्सुली धान खरिद गरिएको जानकारी दिए ।
यस्तै, बिर्तामोड, विराटनगर, वीरगञ्ज र जनकपुरबाट मसिनो धान खरिद भइरहेको पनि उनले जानकारी दिए । कम्पनीले पहिलो पटक जुम्लाबाट ३०० मेट्रिक टन मार्सी धान खरिद गर्ने योजना अनुरूप खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले अर्को सातादेखि मार्सी धान खरिद थाल्ने तयारी गरेको पनि जनाइएको छ ।




