विराटनगर, २५ माघ । नेपालमा भोलि (सोमबार)बाट कोरोना भाइरसविरुद्धकाे दोस्रो चरणको खोप दिइने भएकाे छ । कोभिड खोपविज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीका अनुसार भोलिबाट दोस्रो चरणकाे खोप लगाउन सुरु गरिने भएकाे हो ।
पहिलो चरणको कोभिड खोप कार्यक्रम शनिबार सम्पन्न भएको छ । १० दिनसम्म चलेको पहिलो चरणको खोप अभियानका क्रममा करिब एक लाख ८७ हजार जनाले खोप लगाएका छन् । तीमध्ये कसैमा पनि कुनै प्रकारको समस्या नदेखिएको कोभिड खोप विज्ञ सल्लाहकार समितिकाले जनाएको छ ।
डा. उप्रेतीले पहिलो चरणको खोप कार्यक्रम पूर्ण रुपमा सफल भएको बताउँदै कोभिड खोप पूर्ण रुपमा सुरक्षित रहेकोले खोप लगाउन नडराउन अनुरोध गरे । पहिलो चरणको सफल खोप कार्यक्रमबाट उत्साहित रहेको बताउँदै उनले भोलीदेखि दोस्रो चरणको खोप कार्यक्रम सुरु गर्ने जानकारी दिए ।
उनका अनुसार दोस्रो चरणको खोप एक हप्तामा सकिनेछ जसमा तीन लाख जनालाई खोपदिइने लक्ष्य छ । दोस्रो चरणमा बढि मानिसको भीडमा काम गर्ने र धेरै मानिसको सम्पर्कमा आउने पेशागत क्षेत्रका व्यक्तिहरु जस्तै पत्रकार, बैंकका कर्मचारी, मालपोत कार्यालयका कर्मचारीगायतलाई खोप प्रदान गरिँदैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिए । उनले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको जनाए ।
स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिको पत्रकारको विवरण मागेको र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ र खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ । देशभर करिब १३ हजार पत्रकार रहेका छन् । पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ ।




