तनहुँ, २९ माघ । मूल्य नपाउँदा तनहुँका कृषकहरुको अदुवा बारीमै छ । बिक्री गरेर यतिबेला नगद गोजीमा राख्नुपर्ने समयसम्म ग्राहक नआएपछि कृषक चिन्तामा परेका छन् । यहाँ उत्पादित अदुवाको मुख्य बजार भारत भएको र व्यापारीहरु खरीद गर्न नआएकोले बिक्री गर्न समस्या परेको कृषकहरुले बताएका छन् ।
भिमाद नगरपालिका–४ का तुलबहादुर थापाले गतवर्ष भन्दा आधा सस्तोमा अदुवा बिक्री गर्नु र्ने अवस्था आएकोले अदुवा बारीमा रहेको जानकारी दिए । ‘‘गतवर्ष धार्नीको दुई सय रुपियाँमा विक्री भएको थियो यस वर्ष एक सयदेखि एक सय बीस रुपियाँमा बिक्री गर्नुपर्ने बाध्यता आइपरेको छ, भारतीय व्यापारीले खरिद नगरेकाले सही मूल्य पाइएको छैन’’ कृषक थापाले भने ।
बिक्री हुन्छ कि भन्ने आश रहेकोले सस्तोमा विक्री नगरेको थापा बताउँछन् । पाँच रोपनी जमिनमा अदुवा लगाउने गरेको गतवर्ष एक लाख ८० हजार रुपियाँको अदुवा विक्री गरेको थापाले जानकारी दिए । भिमादकै कृषक भुवन आले सस्तोमा बेच्नुपर्ने अवस्था आएकोले अदुवा बिक्री नगरेको जानकारी दिए । ‘‘भारत निकासीमा बन्द र स्थानीय बजारमा भाउ नहुँदा अहिलेसम्म ९० प्रतिशत कृषकहरुले बारीमाा लगाएको अदुवा खनेकै छैनन्’’ कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले भने ।




