विराटनगर, १ फागुन । अहिले बजारमा ‘फ्रोजन फुड’ को लोकप्रियता बढ्दै गइरहेको छ । ‘फ्रिज’मा भण्डार गरिएको वा ‘फ्रिजिङ’ प्रक्रियाद्वारा सुरक्षित गरिएको खाना ‘फ्रोजन फुड’ हो । सजिलो तथा समय बचतको हिसाबले अहिले मानिसले ‘फ्रोजन फुड’ खरिद गरेर खाने गरेको पाइन्छ तर यसले जनस्वास्थ्यलाई नकारात्मक असर गर्ने पोषणविद्को भनाइ छ ।
यस प्रक्रियामा खाना खानालाई चिस्याएर राखिने गरिन्छ । बजारमा फ्रोजन मःमः, फ्रोजन पिज्जा, फ्रोजन पास्ता, यःमरी, मटर, लगायत तरकारीदेखि माछा मासु पनि फ्रोजन नै पाउन थालिएको छ । व्यस्त दैनिकी तथा पकाउने कला नभएकाले मानिस बजारमा बनेका वा लामो समयसम्म फ्रिज गरिएका खानेकुरा खान थालेको पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् । उनले यस्ता खानाले लामो समय फ्रिज गरिएका खानेकुराले स्वास्थ्यमा असर गर्ने जानकारी दिइन् ।
हामीले दुध, दहीलाई चिस्याएर आइसक्रिम बनाएको छ भने त्यसले खासै असर गर्दै तर बजारमा लामो समयदेखि फ्रोजन गरिएको खानाले स्वास्थ्यमा नकारात्मक असर गर्ने दाबी गर्छिन् । ‘‘फ्रिजमा खाने कुरा राखे पनि एक दुई दिनको लागि हुन्छ’’, डा. उप्रेती भनिन्, ‘‘तर बजारमा महिनौ वा वर्ष सम्मका हुन्छ र त्यो खानेकुरा कस्तो अवस्थामा बनाएको थाहा हुँदैन । त्यसैले बजारको यस्तो खाने कुरा नखान उनको सुझाव छ । ’’
यस्ता खानाले अहिले नै कुनै असर नगरे पनि दीर्घकालमा ठूलो स्वास्थ्य समस्या निम्त्याउँछ । हामीले घरमा पनि मानिसहरू माछामासु लगायत खानेकुरालाई लामो समयसम्म टिकाउन फ्रिजमा राख्ने गरिएको तर खानेकुरा लामो समय फ्रिजमा राख्न हुँदैन । हप्तौँसम्म माछा मासु वा खानेकुरालाई ‘फ्रिज’मा राख्दा त्यसको पोषण घट्नुको साथै स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ ।
हामीले कुनै पनि फ्रोजन खाना खाएमा त्यसको स्वाद नै हुँदैन अर्को भनेको पोषण धेरै घटिसकेको हुन्छ । ‘बजारबाट ल्याएको फ्रोजन खानेकुरा तातो पानीमा हाल्दा चिल्लो निस्कन्छ । यस प्रकारको खानामा चिल्लोको मात्रा बढी हुन्छ जसकारण रक्तचाप, मधुमेह, कोलेस्टोर भएकालाई त विष समान नै मानिन्छ । ’’
बजारमा पाइने फ्रोजन खानेकुरामा त लामो समय टिकाउन प्रयोग गरिने ‘प्रिजरभेटिभ’हरूले स्वास्थ्यमा झनै नकारात्मक असर पु¥याउने आयुर्वेद तथा पोषणविद् डा.रुवि बज्राचार्यले जानकारी दिए ।




