तनहुँ, १ फागुन । तनहुँकाे व्यास नगरपालिका–५ चापाघाट कृषक झलकबहादुर आले बङगुर पालेर लखपति बनेका छन् । बंगुरपालन व्यवसायलाई नमुना ढंगले पाल्दै आएका आलेले बङ्गुर पालनका साथै सात वर्ष अघिदेखि मासु पसल सञ्चालन गरेका छन् । २२ लाखमा दश रोपनी जग्गा किनेर बङ्गुर पालन थालेका आलेले हाल राँगा पाल्ने काम समेत सुरु गरेका छन् ।
पाँच लाख खर्च गरी बङ्गुरको खोर र रााँगाको गोठ निर्माण गरेका आलेले सात लाखमा बंगुर र पाँच लाख बराबरको राँगो तयारी अवस्थामा छन् । उनले निर्माण गरेका नौ वटा खोरमा ३५ वटा बङ्गुर,२५ वटा बँदेल, र दश वटा सुँगुर गरी ७० वटा छन् भने पाँच वटा रााँगा मासुको लागि तयारी भैसकेका छन् ।
दैनिक ४० हजारदेखि बढीमा एक लाख म्मको मासु बिक्री गर्ने गरेको र खर्च कटाएर वार्षिक १० लाख रुपियाँ बचत हुने गरेको आलेले जानकारी दिए । उनको बङ्गुर फार्ममा दुई जना युवकहले रोजगारी पाएका छन् । बँदेलको मासु प्रतिकिलो रु. छ सय, सुँगुरको पाँच सय र बंगुर/रााँगो चार सयमा बिक्री गर्ने गरेको उनले जानकारी दिए ।
ससेजको व्यापार फस्टाउँदै
व्यवसायी आलेले ससेज व्यापार पछिल्लो समय फस्टाउँदै गएको बताए । युवायुवतीहरुको आकर्षणकाे रुपमा रहेको ससेजको व्यापारमा बृद्धि हुदै गएको छ । चार सय ग्राम चिकेन/बंगुरको ससेजको तीन सय ७० र बफको तीन सय २० मा बिक्री हुने गरेको छ । ससेज निर्माण गरी जिल्लाका विभिन्न स्थानमा सप्लाइगर्दै आएको आलेले बताए ।




