गाइघाट, २ फागुन । गाइघाट बजारमा शुद्ध दूधको आपूर्ति बढेसँगै छुर्पी उत्पादनमा भने व्यापक वृद्धि भएको छ तर बजारका डेरी उद्योगले उत्पादन गरेको छुर्पी बिक्री हुन सकेको छैन । त्रियुगा नगरपालिका क्षेत्रभित्र व्यावसायिक गाईपालन गर्ने किसानले उत्पादन गरेका दूध डेरीमा सहज आपूर्ति भएकाले यो वर्ष छुर्पी उत्पादनमा व्यापक वृद्धि भएको । तर छुर्पी बिक्री ठप्प हुँदा लगानी नै डुब्ने चिन्ता बढेको राधाकृष्ण दूध डेरीका सञ्चालक वासुदेव कटुवालले बताए ।
उनले मङ्सिर पहिलो सातादेखि उत्पादन गर्न सुरु गरेकोमा हालसम्म १७ क्विन्टलभन्दा बढी छुर्पी उत्पादन भइसकेको बताए । फागुनको दोस्रो सातासम्म छुर्पी उत्पादन गर्न सकिने हुँदा थप सात क्विन्टलको हाराहारीमा आफूले छुर्पी बनाएर बिक्री गर्ने लक्ष्य लिएको तर अहिलेसम्म एक किलोग्राम पनि नबिकेको बताए ।
त्यसैगरी सात वर्षदेखि छुर्पी उत्पादन गर्दै आएको पाथीभरा दूध डेरी उद्योगले पनि मङ्सिरदेखि नै उत्पादन गर्न सुरु गरेर अहिलेसम्म करिब ६० क्विन्टलभन्दा बढी छुर्पी उत्पादन गरिसकेको सञ्चालक अविनार लिम्बूले बताए । विगतका वर्षहरूमा प्रतिकिलोग्राम एक हजार रुपियाँको भाउ पाउँदै आएकोमा यस वर्ष मूल्य पनि घटेर प्रतिकिलो सात सयको हाराहारीमा झरेको तर अहिलेसम्म बिक्री नै नभएको उनले बताए ।
उनका अनुसार पूर्वी नेपालका बजारमा गाईघाटको छुर्पीको अत्यधिक माग हुने गरेकोले विगतलाई हेरेर यस वर्ष पनि लगानी बढाएर उत्पादन बढाएको तर कोरोनाका कारण व्यापारमा व्यापक गिरावट आएको हो । उनले आफ्नो गोदाममा अझै करिब ६० क्विन्टलभन्दा बढी छुर्पी थन्किएर रहेको बताए । गाइघाटको छुर्पी स्थानीय बजारमा मात्र नभई झापाको बिर्तामोड, धुलाबारी, बेलडाँगीस्थित शरणार्थी शिविर र भारतको सिलगुडीसम्म जाने गरेकोमा यो वर्ष बिक्री ठप्प छ ।




