विराटनगर, २ फागुन । विभिन्न रोगको संक्रमणबाट हामीले पालेका कुखुराहरु मर्छन् । कुखुरामा रोग लाग्ने र फैलने प्रक्रिया तीब्र हुँदै गइरहेकाे छ । अझ मरेका चल्ला र कुखुराको उचित व्यवस्थापन नगरी जताततै फाल्ने गर्नाले पनि रोगको संक्रमण फैलिने गर्छ ।
कुखुरा पालक किसानहरुमध्ये धेरैलाई मरेका कुखुराको व्यवस्थापन कसरी गर्ने भन्ने विषय थाहा नहुन सक्छ । आज हामी मरेका चल्ला तथा कुखुराको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा जानकारी दिँदैछाैँ ।
-व्यावसायिक फार्म वा किसानहरुले मरेका कुखुराको रोग पहिचान गरी त्यसलाई गहिरो खाल्डो खनेर पुरिदिने गर्नुपर्छ । कुखुरालाई पुर्दा माथिबाट चुना, नुन वा ब्लिचिङ पाउडर छरेर मात्र माटोले पुरिदिनु पर्छ।
-मरेका चल्ला वा कुखुरालाई लामो समयसम्म खोरभित्र त्यसै राख्नु हुँदैन। मरेका कुखुरालाई खोरबाट निकालेर व्यवस्थापन नगरुन्जेल कुनै कन्टेनर, बट्टा अथवा प्लास्टिकको खाली बोरामा राख्नुपर्छ। किनभने मरेका कुखुरालाई खुल्लै छाडी राख्दा त्यसमा झिंगा तथा किरा लाग्ने, कुकुर, बिरालो, मुसा र अन्य चराहरुले खाने हुँदा जतासुकै फैलिएर रोगको संक्रमण फैलिन सक्छ।
-मरेका कुखुरालाई खोरभित्रबाट झिकेर गाडिसकेपछी कामगर्ने व्यक्तिले साबुन-पानीले राम्रोसँग हातगोडा धोएर निसंक्रमण गर्ने घोल शरिरमा छर्कनु पर्छ ।
-फार्ममा मानिस आवतजावत गर्ने ठाउँमा मरेका कुखुरा राख्नु हुँदैन ।
-मरेका कुखुरा गाड्ने ठाउँ फार्मभन्दा अलग्गै एकान्त ठाउँमा हुनुपर्छ ।
-एकपटक कुखुरा गाडेको ठाउँमा पुन: तीन वर्षसम्म खन्नु हुँदैन ।




