कञ्चनपुर, २ फागुन । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.२ क्याम्प,गौंडी टोलका किसान गैँडाको आतङ्कले हैरान छन् । दैनिक जसो शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट गौडी बस्तीमा गैँडा पस्दा हैरानी खेप्नु परेको यहाँका किसानहरूको गुनासो छ । कालिकिच तालको छेउमा गैँडा बस्दै आएको र सो गैँडा अँध्यारो हुँदा साथ बस्ती पस्ने गरेकाले दुःख खेप्नुपरेको स्थानीयको भनाइ छ ।
शनिवार राती पनि गैँडा बस्तीमा पसरे किसानको गहुँवाली नष्ट गरेको स्थानीयहरूले दुखेसो पोखे । राती आएको गैँडालाई बल्लबल्ल हल्ला गरेर भगाए पनि भागेको गैँडा आधा घण्टा नबित्दै फेरी बस्तीमा फर्कियो । गैँडाको आतङ्कले रातभरी सुत्न नपाइएको किसानको गुनासो छ ।
स्थानीयका अनुसार, गैँडा,निलगाई, चित्तल, बँदेल, बाँदर, हात्ती, चराचुरुङ्गी बस्ती पसेर किसानले दुःख पाइरहेका छन् । जनावरको आतङ्कले किसानले लगाएको खेती सखाप पारिरहेको भन्दै किसानले दुःख व्यक्त गरे ।
स्थानीय बासिन्दाहरूले निकुञ्ज किनार क्षेत्रमा लाइट, पटाका, तारजाली गरेर आफु र आफ्नो बालीनाली संरक्षण गरिदिने पटक पटक निकुञ्ज र स्थानीय सरकारसँग माग गर्दा समेत सुन्वाई नभएको गुनासो छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले वन्यजन्तुबाट हुने जनधनको क्षती न्यूनीकरणका लागी सहयोग गर्न रेन्जर पोष्टलाई निर्देशन दिई सकिएको बताए । ‘बजेट अभाव र सिमानाका बन्द हुँदा पटाका लगायतमा सामग्री उपलब्ध नभएकोले केही समस्या देखिएको हो,’ उनले भने ।




