२०८२ चैत्र २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २ फागुन ।  कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेको वस्तुमा बचत हुनेगरी कृषि वस्तुको मूल्य निर्धारण गरिनुपर्ने बताएकी छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७औँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै मन्त्री अर्यालले उत्पादनमा बचत नभएसम्म कृषिप्रति आकर्षण नबढ्ने भएकाले किसानले गरेको उत्पादनमा बचतको सुनिश्चितता हुनेगरी मूल्य निर्धारण गर्नुपर्ने बताइन् ।

कृषिका निम्ति पसिना बगाउने किसानलाई बिचौलियाले मर्कामा पारेको बताइन् । उनले भनिन्, “किसानदेखि उपभोक्तासम्म आउन बीचमा जे जति तह छन्, त्यसले किसानलाई मर्का परेको छ । ”

किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य पाउन नसकेको बताउँदै उनले आफूले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण किसानको सहभागितामा हुनुपर्ने कुरामा जोड दिइन् । किसानले कति मिहिनेत गरेका छन्, कति श्रम गरेका छन्, कति लगानी गरेका छन्, त्यसको कुनै मूल्याङ्कन नगरी बीचका मान्छेले सीधै मूल्य निर्धारण गरिदिँदा किसान मर्कामा परेको उनले बताइन् ।

किसानको खेतदेखि उपभोक्तासम्म कृषि उत्पादन आइपुग्दासम्म मूल्य आकाशिने गरेको उल्लेख गर्दै मन्त्री अर्यालले यो असन्तुलनको अन्त्य गर्दै किसानलाई न्याय हुने व्यवहार स्थापित गर्नुपर्ने बताइन् । किसानलाई न्यून मूल्य दिने र उपभोक्तासम्म आइपुग्दा उच्च मूल्य लिने काम गर्न नहुने बताउँदै उहाँले उपभोक्ता र किसान दुवै मर्कामा नपर्ने कार्य गर्न सुझाव दिइन् ।

नेपाललाई समृद्ध बनाउने आधार कृषि नै रहेको बताउँदै उनले त्यसका लागि सम्पूर्ण क्षेत्रले कार्य गर्नुपर्ने बताइन् । १५औँ योजनामार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना साकार पार्ने योजना अगाडि सारेको उल्लेख गर्दै उनले १६औँ योजना नपुग्दै देशमा उच्चस्तरको विकास हुने दाबी गरिन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले विगतको भन्दा केही सुधार गरे पनि अझै सुधारको आवश्यकता रहेको बताउँदै मन्त्री अर्यालले फोहोर र पार्किङको उचित व्यवस्थापन गर्न सुझाव दिइन् । स्टलसँग जोडिएका केही कुराले बेथिति ल्याएको भन्दै सुशासन कायम गर्ने सन्दर्भमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!