स्याङ्जा, २ फागुन । वैदेशिक रोजगारबाट स्वदेश फर्केर खोले साग खेती गरेकी पुतलीबजार नगरपालिकाकी राधिका खड्का यतिखेर गाउँमा प्रेरणाको स्रोत बनेकी छन् । वैदेशिक रोजगारीबाट फर्केर खड्काले गरेकी व्यवसायिक खोले सागको खेतीले खड्कालाई मात्र होइन छिमेकी महिलाहरुलाई पनि उत्साहित बनाएको छ ।
७ वर्षदेखि खड्काले पुतलीबजार नगरपालिका वाडखोलामा ९ रोपनी जग्गा लिजमा लिएर व्यवसायिक खोले सागको खेती गरेकी हुन् । अहिले खोले साग खरिद गर्ने व्यवसायी खेतमा नै आउने गरेका छन् । कुनै बेला डोकोमा बोकेर बजार खोज्नुपर्ने समस्याको अहिले अन्त्य भएको छ ।
यहाँबाट उत्पादन भएको खोले साग पोखराको तारे होटलमा पर्यटकको रोजाइ बनेको छ । बिदेशमा भन्दा स्वदेशमै सन्तुष्ट रहेको र मासिक ६० हजार बचत भएको खड्काको भनाइ छ । अहिले खोले सागका पारखीहरु बढ्न थालेसँगै पोखराका व्यवसायी खेतमा आउने, आँफै काट्ने र खरिद गर्ने गरेका छन् ।
एक मुठा सागलाई ४० देखि ५० रुपैँयासम्म तिर्ने गरेका छन । अहिले पुतलीबजार भित्र खोले सागको व्यवसायिक खेती गर्ने कृषकको संख्या बढ्न थालेको छ ।




