विराटनगर, ४ फागुन । मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । मेथीलाई हामी भान्छामा नभइनहुने मसलाकाे रूपमा पनि प्रयाेग गर्छाैँ । मेथीलाई तेलमा फुराएर अचार, तरकारीमा प्रयोग गर्छाैं ।
तर, भान्सामा मात्र नभएर मानव स्वास्थ्यका लागि पनि फाइदैफाइदा छन् । तोरीको तेलमा मेथी फुराएर कपालमा लगाउँदा कपाल राम्रो हुनेगर्छ । मेथी फुराएको तेल शरीरमा लगाउँदा चिसोबाट बच्न सकिन्छ भन्ने मान्यता छ ।
त्यस्तै यसलाई राती भिजाएर बिहान खाली पेटमा चपाएर खाने र यसको पानी पनि पिउने गर्नाले ग्यास्ट्रिक नियन्त्रणका लागि अचुक उपाय हुने अध्ययनले देखाएको छ । मेथी दाना नियमित रुपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट बच्न सकिन्छ ।
जलन र एसिडिटी पनि हुनबाट जोगाउँछ । भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वारोको समस्यालाई टाढा राख्छ ।
मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ जसले हाम्रो शरीरलाई निकै फाइदा पुर्याउँछ ।
१. कोलेस्ट्रोल नियन्त्रण
हालै भएको एक खोजबाट के पत्ता लागेको छ भन्दा, एकदिनमा कम्तीमा पनि ५६ ग्राम मेथीको दाना खाने व्यक्तिहरूको कोलेस्ट्रोलको मात्रा २४ हप्तापछि १४ प्रतिशतले घट्दछ, जुन एकदम राम्रो नतिजा हो। त्यसै गरी मेथीको सेवनले हृदयघात हुने सम्भावना पनि २५ प्रतिशतले कम हुने पत्ता लागेको छ।
त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुको राम्रो उपाय भनेको दिनमा कम्तीमा पनि ५६ ग्राम मेथीको दाना खानु हो। यसलाई तपाईँले दैनिक आहारमा राखेर पनि खान सक्नुहुन्छ भने पानीसँग पनि खान सक्नुहुन्छ।
२. मधुमेहको उपचार र रगतमा ग्लुकोजको मात्रा घटाउन
प्रकार २ को मधुमेह भएका व्यक्तिहरूले मेथीको दाना खाएपछि उनीहरूको रगतमा ग्लुकोजको मात्रा ह्वात्तै घटेको एक खोजबाट देखिएको थियो। त्यसैले चिकित्सकको सल्लाहअनुसार प्रकार २ को मधुमेहलाई उपचार गर्ने घरेलु उपाय भनेको मेथीको दाना खानु हो, तर त्यसको लागि तपाईँले दिनमा कम्तीमा पनि १००० मिलिग्राम मेथी खानुपर्ने हुन्छ।
यो कुरामा ध्यान दिनुपर्ने हुन्छ कि, मधुमेह भएका व्यक्तिहरूले धेरै मात्रामा मेथीको सेवन गर्नुहुँदैन। किनभने, शरीरमा ग्लुकोजको मात्रा कम भएमा पनि रिङ्गटा लाग्ने, बान्ता हुने र बेहोस हुने जस्ता समस्या पनि निम्तिन सक्छ।
३. मुटुको समस्याको रोकथाम
मेथीमा पाइने ग्लाक्टोमेनन (Glactomanon) ले हाम्रो मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ। साथै, यसमा पोटासियम पनि पाइने हुनाले शरीरको रक्तचाप र मुटुको धड्कनलाई नियन्त्रण गर्न मेथीको सेवन गर्नुपर्ने हुन्छ।
४. मोटोपना घटाउन
थरी-थरीका शारीरिक व्यायाम र खानपिनमा ध्यान दिँदा दिँदै पनि अधिकांशको मोटोपनामा नियन्त्रण भैरहेको हुँदैन। यदि यस्तो अवस्था छ भने, बिहान उठ्ने बित्तीकै खाली पेटमा १ चम्चा मेथीको धूलो मनतातो पानीसँग खानुहोस्। यसमा भएको फाइबरले गर्दा तपाईँलाई धेरै भोक लाग्न दिँदैन र बिस्तारै मोटोपनामा पनि नियन्त्रण हुँदै जान्छ।
५. छालाको समस्याको उपचार
छालामा आएको दाग, खटिरा अनि घाउको लागि पनि मेथीको दानाले उपचार गर्न मिल्दछ। त्यसको साथसाथै, आगोले पोलेको, हतियारले काटेको, लुतो, पिलो, डण्डिफोर जस्ता समस्यालाई रोक्न पनि मेथीले सहयोग गर्दछ। त्यसको लागि आफूलाई चाहिएजति मेथीको दाना लिनुहोस् र त्यसलाई मसिनो हुने गरी पिस्नुहोस् । उक्त धूलोलाई मनतातो पानीमा मिसाएर लेदो बनाउनुहोस् । त्यसपछि एउटा सानो सफा र नरम लुगामा उक्त लेदो राखेर सङ्क्रमित छालामा लगाउनुहोस् ।
६. कपाल झर्ने समस्याबाट बच्न
दिनहुँको भोजनमा मेथी मिसाएर खाँदा त धेरै फाइदा हुन्छ, त्यसको साथसाथै, दानालाई धुलो बनाएर त्यसको लेदोलाई कपालमा बाकुलो गरेर लगाउनाले कपाल झर्ने, चाँया पर्ने जस्ता समस्याबाट पनि मुक्त हुन सकिन्छ।
७. मुटु पोल्ने र ग्यास्ट्रिकको समस्याको प्राकृतिक उपचार
मेथीको दानामा प्रशस्त मात्रा म्युसिलेज (Mucilage) पाइन्छ, जसले मुटु पोल्ने र ग्यास्ट्रिक जस्ता समस्यालाई राहत पुर्याउँदछ। त्यसैले यदि तपाईँलाई मुटु पोल्ने समस्या छ भने, आफ्नो खानामा १ चम्चा मेथीको धूलो राखेर खानुहोस् अथवा खाना खानुभन्दा अगाडि पानीसँग मेथीको दाना चपाउनुहोस्।
८. ज्वरोको लागि घरेलु उपचार
मेथीको दानालाई कागती र महमा मिसाएर खानाले शरीरको ज्वरोलाई धेरै नै कम गर्दछ। ज्वरो आउँदा हाम्रो पुरै शरीर तातो र शिथिल हुने गर्दछ, यस्तो अवस्थामा मेथीले पेनकिलर (painkiller) को काम गर्दछ। त्यसैले ज्वरोको उपचारको लागि, दिनमा ३ चोटी २ चम्चा मेथीको दाना कागतीको रस र १ चम्चा महसँग चपाउनुहोस्।
९. स्तनको आकार बढाउन
महिलाहरूको हर्मोनमा वृद्धि गराउनको लागि विभिन्न देशहरूले मेथीको दानाबाट चियाको उत्पादन गर्ने गर्छन्। त्यसैले, महिलाहरूको हर्मोनको वृद्धि (स्तनको आकारमा वृद्धि) गराउनको लागि दैनिकी खानामा मेथीलाई अनिवार्य राख्नुहोस्। प्रतिदिन महिलाहरूले कम्तीमा पनि ३ ग्राम मेथी खानुपर्ने चिकित्सकहरूको सुझाव रहेको छ।
१०. प्रशवावस्थालाई सहज गराउन
आजकाल, महिलाहरूको खाने बानीले गर्दा प्रशवावस्थामा धेरै पीडा भोग्नुपर्ने हुन्छ। तर, मेथी यस्तो औषधी हो, जसले महिलाहरूको प्रशवावस्थाको समस्यालाई पनि हल गर्न सक्दछ। यसमा भएको स्टिमुलस (Stimulus) ले गर्भाशयको मुखलाई सक्रिय गराउँदछ, जसले गर्दा बच्चा जन्माउनमा सहज हुन्छ। तर, चिकित्सकको सल्लाहबमोजिम मात्रै महिलाहरूले यसको सेवन गर्नुपर्दछ।




