२०७७ फाल्गुन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बागलुङ, ६ फागुन । व्यवसाय दर्ता गरी पशुपालनमा आबद्ध कृषकले पालेका चौपायाको निःशुल्क बीमा गर्न थालिएको छ । पशु बीमाको ७५ प्रतिशत रकम सङ्घीय सरकार र २५ प्रतिशत रकम गण्डकी प्रदेश सरकारले तिर्ने भएपछि दर्तावाला फार्ममा रहेका पशुको निःशुल्क बीमा गर्न थालिएको हो ।

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा १९ जना कृषकले निःशुल्क पशु बीमाको सुविधा प्राप्त गरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्राविधिक केशव पौडेलले जानकारी दिए । निःशुल्क बीमाका लागि २९ जना फार्म सञ्चालकले आवदेन दिएकामा बाँकी १५ जनालाई थप कागजात पेस गर्न आग्रह गरिएको उनले बताए ।

यसअघि पशु बीमाको प्रिमियम शुल्कबापत नेपाल सरकारले ७५ प्रतिशत र कृषकले २५ प्रतिशत रकम तिर्नुपर्ने व्यवस्था थियो । गण्डकी प्रदेश सरकारले दर्तावाला फार्ममा रहेका पशुको बीमाबापत कृषकले तिर्नुपर्ने रकमको जिम्मेवारी लिएको हो । दर्ताबिना सञ्चालन भएका फार्म तथा व्यक्तिगत प्रयोजनका लागि पालिएका पशुको बीमाका लागि भने कृषकले तिर्नुपर्ने रकम स्वयं कृषकले नै भुक्तानी गर्नुपर्ने हुन्छ ।

बागलुङमा व्यावसायिक चौपायापालन गरेका अधिकांश कृषक पशु बीमाप्रति आकर्षित बन्दै गएका छन् । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार गत वर्ष ६२५ गाई, ८९० भैँसी, एक हजार ३२५ बाख्रा, १४५ बङ्गुर, २१ हजार कुखुरा र २० रोपनी क्षेत्रफलमा पालिएका माछाको बीमा गरिएको थियो ।

यहाँ निर्जीवन बीमा कम्पनीले पशु बीमाका योजना लिएर किसानको गोठगोठमा पुग्न थालेका छन् । पशु बीमाका फाइदाबारे बीमा कम्पनीका प्रतिनिधिले कृषकलाई बुझाउन थालेपछि किसान पनि आकर्षित भएको प्राविधिक पौडेलले बताए ।

बीमा गरेपछि एक वर्षभित्र पशु मरेमा त्यसको मूल्यको ९० प्रतिशत कम्पनीले किसानका घरमै पुगेर दिन थालेका छन् । व्यावसायिक रूपमा पशुपालक कृषकले बीमा गरेपछि पशुमा लाग्ने महामारी रोगबाट हुने क्षतिको सामना गर्नुपर्दैन । व्यवसायमा गरेको लगानी खेर जानबाट जोगिन बीमा धेरै प्रभावकारी हुने कृषक खडक विकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!