
चितवन, ७ फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले नेपालमा मल कारखाना खोल्न छलफल जारी रहेकाे बताएकी छन् । बिहीबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले किसानको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको बताइन् ।
यसका साथै उनले आगामी मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने जानकारी दिइन् । किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताउँदै उनले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिइन्र । धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया शुरु भएको उनकाे भनाइ छ ।
