२०८३ बैशाख ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देउखुरी, १५ फागुन । कृषिमा यान्त्रीकरण भएपछि दाङका किसानको बाली उत्पादनमा वृद्धि भएको छ । परम्परागतरुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गर्दा कम लागतमा उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ ।

किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकरणतर्फ किसानको आर्कषण बढेको छ । दाङको घोराही उपमहानगरपालिका–४ का लक्षुराम चौधरीले पुर्खौंदेखि खेत जोत्न प्रयोग हुँदै आएको ‘गोरुले जोत्न’ छाडेका छन् । उनले अहिले खेतबारी जोत्नका लागि गोरुको ठाउँमा (पावर टिलर) को प्रयोग गर्छन् । “कम श्रममा एकैपटक धेरै खेत जोत्न सकिने भएपछि गोरु बेचेर पावर टिलर खरीद गरेको हुँ”, उनले भने, “गोरु पाल्नका लागि घरका अरु सदस्यले घाँस काट्ने, खुवाउने र चराउने काम पनि घटेको छ । पावर टिलर खरीद गरेपछि काम छिटोछरितो भएको छ ।”

पावर टिलरको प्रयोग गरेपछि चार दिनको काम दुई घण्टामा पूरा भएको कृषकको भनाइ छ । कृषि यन्त्रको सहयोगले कृषि कार्यले काममा सहज हुनुका साथै समयको बचत भएको उनी बताउँछन् । कृषि उत्पादनमा विगतको तुलनामा दोब्बरले वृद्धि भएको छ । पावर टिलरले जोतेको खेतमा बाली धेरै उब्जनी भएको छ । गोरुले जोतेकोभन्दा धेरै राम्रोसँग माटो जोतिने भएकाले रोपाइँ गर्दा पनि एकदमै छिटो र सजिलो हुन्छ ।

आफ्नो जमीन जोतेर सकियो भने अरुको खेत जोतर आम्दानी पनि हुने गरेको छ, गाउँघरका अरुका खेतबारी जोतेर आम्दानी हुने गरेको छ अहिले आफूसँग कर्नसेलर, पावर टिलर र रिपरलगायतका कृषि यन्त्र रहेको चौधरी बताउँछन् । राप्ती गाउँपालिका–४ का चरण चौधरीले विगत तीन वर्षदेखि खेतबारी जोत्न पावर टिलरको प्रयोग गर्दै आएका छन् ।

व्यावसायिक खेती गर्ने अधिकांशले परम्परागतरुपमा प्रयोग गर्दै आएका कृषि साधनको साटोमा आधुनिक कृषियन्त्रको प्रयोग गरेकाले सबैलाई खेती गर्न सजिलो भएको छ । अहिले यान्त्रिक हलो प्रयोग गर्न थालेपछि गाउँघरमा व्यावसायिक खेती गर्नेको सङ्ख्या बढेको उनले बताए । खतजोत गर्न सजिलो भएपछि ग्रामीण क्षेत्रका कृषकले वर्षभरि नै मौसमी र बेमौसमी तरकारी उत्पादनमा लागेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!