विराटनगर, १७ फागुन । उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्या संलग्न भएको आरोपमा फरार अभियुक्त उर्लाबारीका रमेश गिरी पक्राउ परेका छन् । आइतबार उर्लावारीबाट पक्राउ परेका उनलाइ आज प्रहरीले अदालतमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए ।
गिरी बास्तोलाको मृत्यु भएको समयमा उनकै घरमा साथीहरूसँग सुतेका थिए । जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा गिरीलाई फरार अभियुक्त बनाइएको थियो । यो घटनामा अन्य संलग्न भनिएका अन्य तीन जना अझै फरार रहेका छन् । पुस २२ गते घरधनी गिरी र होटेल सञ्चालकविरुद्ध उजुरी परेको थियो भने सोही दिन उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे थियो । सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भनेपछि उनीहरू माघ २ गते रिहा भएका थिए ।
घटनामा ६ जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरिएको थियो । उर्लाबारी ६ बस्ने राजेश रणपहेली, राकेश शिवा भन्ने मेहरमान दर्जी, दिपेश पौडेल, सुदीप परियार, रमेश गिरी र कुमार राईलाई प्रतिवादी बनाइएको छ । जिल्ला अदालतले राकेश शिवा भन्ने मेहरमान दर्जीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ । त्यस्तै अर्का प्रतिवादी भनिएका कुमार राईलाई भने धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ ।
रिहा भएका राई भने होटेल सञ्चालक हुन् । घटना भएको राति प्रविन राईकै होटेलमा गएको देखिएको थियो । त्यहाँ उनले मदिरासमेत खाएका थिए । त्यसपछि साथीसँगै रमेश गिरीको घरमा सुत्न भएका थिए । भोलिपल्ट बिहान साथीहरूले अस्पताल लगेपछि प्रविनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसपछि प्रवीणको मृत्यु रहस्यमय बनेको थियो । प्रहरीको अनुसन्धानले उनीहरूले नै मिलेर हत्या गरेको देखाएको छ ।




