विराटनगर, १८ फागुन । कुखुरालाई खुवाउने दाना भण्डारण गर्दा धेरै कुरामा ध्यान पुर्याउनु पर्दछ । डिलरले गोदाममा भण्डारण गर्दा होस अथवा किसानले घरमा राख्दा होस् दानाको भण्डारण गरेर राख्दा राम्रोसँग राख्नुपर्छ । पानी नचुहिने र पानीको बाछिटा नपर्ने ठाउँमा दाना भण्डारण गर्नुपर्छ, साथै दाना राख्दा भुइँभन्दा अग्लो ठाउँमा राख्नुपर्छ ।
चिस्यान आउने भुइँमा दाना भण्डारण गर्नु हुँदैन । दाना भण्डारण गरेको ठाउँमा मुसा तथा बाहिरी चराचुरुङ्गी छिर्नु हुँदैन । दाना भण्डारण गरेको ठाउँमा धेरै तातो हुनुहुँदैन र हावाको सञ्चार राम्रो हुनुपर्छ ।
कुखुराको खोरसँग सटाएर अथवा कुखुराको खोरभित्र दाना भण्डारण गर्नु हुँदैन । अलग्गै र सुरक्षित ठाउँमा टाड, खटिया, मचान वा तख्तामाथी राख्नुपर्छ । जसलेगर्दा भुइँको चिसोबाट दाना सुरक्षित रहन्छ । दानालाई चारैतिर भित्तामा नछुने गरि राख्नुपर्छ । दाना भण्डारण गर्दा एक लाइनबाट अर्को लाइन दाना राख्दा बीचमा ६ इन्च ठाउँ खाली राखी मिलाएर भण्डार गर्नुपर्छ साथै नम्बर अनुसारको दाना मिलाएर राख्नु पर्दछ ।
नयाँ दाना ल्याउँदा पुरानो दानालाई झिकेर पहिला नयाँ दाना तल राख्ने र त्यसमाथी पुरानो दाना झिक्न मिल्ने गरि राख्नुपर्छ । एकपटक दाना मगाउँदा एक हप्ताभन्दा बढीको दाना भण्डारण गर्नु राम्रो हुँदैन। कुखुरालाई जहिले पनि ताजा र ढुँसी नपरेको दाना खुवाउनु पर्छ । दानाका पुराना बोराहरु पुनः प्रयोगमा ल्याउनु हुँदैन ।
हरेक १५ दिनमा दाना सकेपछी भण्डार गरेको ठाउँ लाई राम्रोसँग सफा गरि सो ठाउँलाई निसंक्रण बनाउने, साथै मुसाले पारेका प्वाल लगायतलाई टाल्नु पर्दछ । कुखुरा व्यवसायमा धेरै खर्च दानामा हुने हुँदा दानालाई सुरक्षित भण्डारण र उचित तरिकाले प्रयोग गर्नु पर्दछ ।




