
सर्लाही, २४ फागुन । सर्लाहीका एक युवकले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । स्नातक पढाइ पूरा गरेर जागिर नखाइ बाउबाजेले गर्दै आएको पशुपालन पेशालाई अगाडि बढाउँदै आएका कविलासी नगरपालिका– १० सलेमपुरका रवीन्द्र यादवले गाउँमै कृषि फार्म खोलेर भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएका हुन् ।
बाबुबाजेले गर्दै आएको कृषि पेशालाई नै अगाडि बढाउनुपर्छ भन्ने सोंच लिएर बिबिएको पढाइ सकेर आफूले करिब एक वर्ष पहिलाबाट रु २५ लाख बैंकबाट ऋण लिएर हिम अमृत कृषि फार्म दर्ता गराई भैँसीपालन व्यवसाय शुरु गरेको उनले बताए । एक वर्षदेखि सञ्चालन गर्दै आएको फार्ममा पालिएका भैँसीबाट उनले राम्रो आम्दानी गर्दै आएका छन् ।

उनको कृषि फार्ममा अहिले ५० भैँसी, तीन राँगा, २५ वटा पाडापाडी र दुई गाई छन् । पच्चीस दुधालु भैँसी उनले फार्ममै राखेका छन् भने दूध दिन छाडेका २५ भैँसी गाउँकै स्थानीय किसानलाई पाल्न दिएको यादवको भनाइ छ । आफूले फार्ममा पालेका सबै पशुको पशु बीमासमेत गराइसकेको उनले बताए ।
गाउँमा पाल्न दिएका भैँसी ब्याएपछि पालेबापत केही रकम दिएर पुनःफार्ममा फर्काएर ल्याउने गरेको उनको भनाइ छ । जिल्लाको नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत पर्ने त्यस क्षेत्रको सुप्रसिद्ध चमेली माईको मन्दिर नजिक सडक छेउको आठ कट्ठा जग्गामा सञ्चालन भइरहेको उक्त कृषि फार्ममा पालिएका भैँसीको आहाराका लागि करिब साढे तीन बिघा जग्गा भाडामा लिएर घाँस रोपेको उनको भनाइ छ ।
प्रत्येक दिन एउटा भैँसीका लागि करिब ५० किलो आहाराको आवश्यकता पर्ने गरेको उनले बताए । यसका लागि प्रतिभैँसी ३० किलो सुख्खा भुस, १५ किलो हरियो घाँस र पाँच किलो दाना मिसाएर खाना तयार पारिन्छ ।
फार्मबाट दैनिक २०० लिटर दूध उत्पादन हुने गरेको छ । कृषक यादवले कृषि फार्ममा उत्पादन भएको दूध बजारसम्म पुर्याउनका लागि फार्मसँगै डेरी पनि खोलेका छन् । उक्त डेरीमा आसपासका स्थानीय किसानले उत्पादन गरेको दूध सङ्कलन गरी दैनिक करीब ५०० लिटरभन्दा बढी दूध जिल्ला सदरमुकाम मलङ्गवालगायतका ठूला बजारमा पठाउने गरेको तर पनि बजारको मागअनुसार पुर्याउन नसकिएको उनले जानकारी दिए ।
उनले कृषि फार्ममा दुई जना स्थानीय व्यक्तिलाई रोजगारी दिएका छन् ।