वीरगञ्ज, ५ चैत । जगरनाथपुर गाउँपालिका–३ बिजवनियाँका किसान अभय यादवले यस वर्ष १९ बिघा जग्गामा मेशिनले गहुँँ रोपेका छन् । जिरोटिलेज मेशिनले खेतमा गहुँ बीउ छर्दा उनका छिमेकी किसानले पत्याएका थिएनन् तर यादवको खेतमा रहेको गहुँको बाला र अन्य किसानको गहुँबाला हेर्दा फरक देखिन्छ ।
किसान यादवले २०५४ सालदेखि परम्परागत गहुँ खेती विधिलाई त्यागेर खेत नजोतिकनै जिरोटिल मेशिनबाट खेती गर्दै आएकोमा यस वर्ष उनको खेतमा गहुँको बाला लहलहाउँदो देखिएको छ । धान खेतीबाट राम्रो उत्पादन लिएपछि उनले गहुँ खेतीमा पनि यो प्रविधि प्रयोग गरेका हुन् । किसान यादवको देखासिकी गर्दै अन्य किसानले पनि मेशिनको प्रयोग गरी गहुँ खेती गर्न थालेका छन् ।
यस भेगका किसानलाई मेशिनको प्रयोग गरी धान, गहुँ तथा मकै खेतीतर्फ आकर्षित गर्न कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगञ्जले मेशिनबाट खेती गर्दा हुने फाइदाबारे व्यापक प्रचारप्रसार गरेपछि किसानले मेशिनले खेती गरी मनग्य आर्थिक लाभ लिन थालेका छन् । जितपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान परमानन्द चौधरीले अघिल्लो वर्षभन्दा यस वर्ष मकै खेतीको क्षेत्रफल बढाएका छन् ।
चौधरीले खेती गर्न सहज लागेर नभई कृषि अनुसन्धान केन्द्र रानीघाट वीरगञ्जले ल्याएको मेशिनबाट मकै रोप्ने प्रविधिका कारण खेती गर्ने क्षेत्रफल बढाएका हुन् । चौधरीले यसवर्ष साढे चार बिघा क्षेत्रफलमा मकै खेती गरेका छन् ।
किसान चौधरीले अघिल्लो वर्ष मेशिनबाट मकै रोप्दा सबै खर्च कटाएर रु चार लाख ५० हजार मुनाफा कमाएपछि यस वर्ष हौसिएर साढे चार बिघा क्षेत्रफलमा मेशिनबाट मकै खेती गरेका छन् । परम्परागत विधिभन्दा मेशिनले रोपेको मकै बाली सप्रिने, राम्रो घोगा र दाना लाग्ने भएपछि त्यस भेगका खेस्रौल, खैरवा, कञ्चनपुर, आँमाटारका करिब १० किसानले यस वर्ष करिब ३० बिघा क्षेत्रफलमा व्यावसायिकरूपमा मकै खेती गरेका छन् ।
त्यसभेगका किसानले डिकाल ९०० एम, मायोनिप ३३५५, शङ्कर २२४४ जातको मकै लगाएर मेजप्लान्ट भन्ने मेशिनले पहिलो पल्ट तीन बिघा क्षेत्रफलमा मकै खेती गरेको किसान निरञ्जन चौधरीले बताए ।




