जनकपुरधाम, १० चैत । प्रदेश नंं २ का प्रदेश प्रमुख डा. राजेश झाले किसानको कर्मको उच्च सम्मान गर्दै खेतमा नै पुगेर किसानलाई सम्मान गरेका छन् । प्रदेश प्रमुख डा. झाले सिरहाको गोलबजार नगरपालिका वडा नंं २ को गुरुधाम गाउँमा व्यावसायिक रुपमा तरकारी खेती कार्यमा संलग्न रहेका एक दर्जनभन्दा बढी किसानलाई गम्छा तथा खादा ओढाएर सम्मान गरेका हुन् ।
गाउँका करिब दुई सय घरका किसान व्यावसायिक रुपमा तरकारी खेतीमा संलग्न रहेको थाहा पाएर किसानको सम्मानका लागि प्रदेश प्रमुख खेतमा नै पुगेर कृषि कर्मलाई प्रोत्साहन गर्नुका साथै किसानको हौसला बढाउने काम गरेका थिए । कृषि कर्मलाई उच्च महत्त्व दिएर प्रदेश प्रमुख डा.झा खेतमै पुगेर किसानलाई सम्मान गरेपछि किसान खुसी देखिएका थिए ।

प्रदेश प्रमुखको सम्मान पाएपछि किसानहरू निक्कै उत्साहित बनेका छन् । साथै किसानहरूले आफूहरूलाई सिचाइको आवश्यकता भएको र राम्रो सिचाइको व्यवस्था भए पुग्ने प्रदेश प्रमुखसँग गुनासोसमेत गरेका छन् ।
करिब २० वर्षदेखि सो वडामा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएको र उत्पादित तरकारीलाई पहाडी जिल्लाका साथै सिरहा, सप्तरी, उदयपुर तथा भारतको जयनगरसम्म किसानहरूले बिक्री गर्दै आएका छन् । करिब ४ सय विघा क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती हुने गरेको पत्रकारसमेत रहेका किसान अर्जुन थपलियाले जानकारी दिए ।







