अजय मण्डल
विराटनगर, १२ चैत । विराटनगर महानगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई हात्तीपाइले रोग निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा स्थानीय तहस्तरीय महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता थियो ।
प्रदेश नं १ मा चैत २० गतेदेखि हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । लगभग ४५ लाख ३४ हजार ९४३ जनसङ्ख्या रहेको यस प्रदेशमा औषधि खुवाउनका लागि पाँच हजार स्वास्थ्यकर्मी परिचालन हुने र यस सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जन स्वास्थ्य कार्यालय प्रदेश नं १ विराटनगरले जनाएको छ ।

कार्यालय प्रमुख डा सुरेश मेहताका अनुसार दुई वर्षभन्दा कम र ७० वर्षभन्दा बढी उमेर समूहका व्यक्ति, गर्भवती र गम्भीर बिरामीबाहेकका व्यक्तिले ढुक्कसँग औषधि सेवन गर्न सक्ने छ । स्थानीय तहले सम्पूर्ण घरमा पुग्नका लागि आवश्यकताअनुसार योजना बनाएर समय निर्धारण गर्न सक्ने उनले बताए ।
लामुखट्टेको टोकाइबाट मानिसको शरीरमा उत्पन्न हुने तीन प्रजातिका मसिनो धागो जस्तै परजीवीको आयु २० वर्ष रहने र यसकै कारणले मानिसलाई हात्ती पाइले रोग लाग्छ । शरीरलाई कुरुप तथा अपाङ्गसमेत बनाउने यो परजीवीलाई हटाउन सबैले हात्ती पाइले रोगविरुद्धको चक्की खानुपर्छ ।
शरीरका हात, खुट्टामा देखिने यो रोग तराईका जिल्लाहरुमा १३ प्रतिशत देखिएको अनुसन्धानले देखाएको बताइएको छ । हात्ती पाइले विरुद्धको औषधि खुवाउने यो नवौँ पटक हो भने यो चक्की खाली पेटमा खान नहुने डा मेहताले जानकारी दिए ।

दुई वर्षदेखि पाँच वर्षकाले एक चक्की, छ देखि १४ वर्षकाले दुई चक्की तथा १५ वर्ष माथिकाले तीन चक्की खानुपर्ने हुन्छ । औषधि सेवनपछि रोगको सङ्क्रमण भएका व्यक्तिमा सामान्य असर देखिन्छ ।
यो रोगको सङ्क्रमण भएका व्यक्तिमा औषधि खाँदा सामान्य वाकवाकी लाग्ने, टाउको दुःखने र रिङ्गटा लाग्ने लक्षण देखिन्छ । मुलुकको ६३ जिल्ला हात्ती पाइले रोगको जोखिममा रहेको अनुसन्धानबाट देखाइएको छ । शरीरको कुनै पनि भागमा मासु जस्तो डल्लो देखिनु, हाइड्रोसिल हुनु, गलगाँड हुनु, हातखुट्टा सुनिएर हात्तीको खुट्टा जस्तो देखिनु नै हात्ती पाइले रोग हो भनिएको छ ।




