२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १३ चैत । जापान र युरोपबाट फर्किएका अछाम ढकारीका बम बहादुर बि.सी. दम्पतीको बहुउद्देश्यीय कृषि उद्यम – करिब एक डेढ बर्ष अघिसम्म जापानको रेष्टुरण्ट, मिनिमार्ट र क्याफेहरूमा काम गर्ने अछाम ढकारीका बम बहादुर बि.सी. अहिले ललितपुर गोदामचौरस्थित आफ्नो कृषि फर्ममा रमाइरहे ।

उनको कृषि फर्ममा ३ हजार जति बोइलर कुखुरा, १ हजार जति लोकल कुखुरा, टर्की मात्र होइन खरायो पनि छन् केही सङ्ख्यामा । १५/१६ रोपनी जग्गामा १५/१६ लाख लगानी गरेर सुरु गरेको बहुउद्देश्यीय कृषि फार्ममा आलु, काउली, बन्दा, लसुन लगायतका मौसम अनुसारका तरकारी पनि लहलह छन् ।

बमबहादुरले ४/५ हजार जति पन्क्षी अट्ने दुई वटा ठूला टहरा बनाएर आफ्नो उद्यम सुरु गरे । उनलाई स्वीजरल्याण्डबाट फर्किएकी उनकी श्रीमतीको पनि गतिलो साथ छ । जापान र स्वीजरल्याण्ड जस्ता समृद्ध मुलुकमा रहेका तपाइँलाई स्वदेशमा फर्किएर उद्यम गर्न के कुराले प्रेरित गर्‍यो भन्ने जिज्ञासामा बि.सी. भन्छन्, “हुन त मेरो पहिल्यै पनि विदेश गएर काम गर्ने उद्देश्य थिएन । यता रोजगारी नहुँदाको विकल्पमा वैदेशिक रोजगारीमा गएको हुँ । एक जना युरोपमा र एक जना जापानमा बसेर जिन्दगी चल्दैन, आफ्नै देशमा सपरिवार भएर केही गर्न सकियो भने त्यो नै आत्मसन्तुष्टिको विषय हुन्छ भन्ने हाम्रो सल्लाह अनुसार हामी दुवै स्वदेश फर्किएका हौँ।”

उनले जापानमा मिनिमार्ट, क्याफे र रेष्टुरेण्टको अनुभव बनाए । सुरुमा त कोटेश्वरमा क्याफे सञ्चालन गरेर उनले उद्यम सुरु गरे ।  तर ५-६ महिना नपुग्दै कोभिडको महामारीले व्यवसाय ठप्प भयो । त्यसपछि अलमल्लमा परेका उनलाई फुर्सदिलो भएका बेला र के गरौँ, कसो गरौँ भइरहँदा सामाजिक सञ्जालमा भएको एउटा भिडियोले ध्यान खिच्यो । चलचित्रका नायक सरोज खनालको ठूलो कृषि उद्यम चितवनमा सञ्चालन भइरहेको भिडियो प्रत्यक्ष देखे । त्यसपछि उनी कृषितर्फ प्रेरित भए र लकडाउन कै समयमा गोदावरीतिर पुगेर सुरु गरे कृषि उद्यम ।

कृषि भनेको निर्वाहमुखी मात्र हो भन्ने बुझाई भएका आफन्तलाई व्यावसायिक आधुनिक कृषिका बारेमा सम्झाएर लगानी सुरु गरेको उनी बताउँछन् । छोटो समयमै पनि चुनौतीहरू के–के हुन्छन् भन्ने बुझ्दै र प्राविधिक ज्ञान पनि हासिल गर्दै आएका बि.सी. भन्छन्, “चुनौती त हुन्छ नि । कमी कमजोरीहरू पनि मैले धेरै केलाए, धेरै थरिका चल्ला हुने रहेछन् । आफैँले बजार व्यवस्थापन गर्न सकियो भने राम्रो हुन सक्ने रहेछ । अनुभवसहित लागि पर्ने हो भने कृषिमा भविष्य छ ।”

जापानको काम गराई र कमाई अनि अहिले यहाँको खटाई र कमाइलाई अहिले नै तुलना गर्ने अवस्था नभए पनि त्यहाँको जस्तै मिहेनत गर्ने हो भने त्यहाँको त्यहाँको भन्दा आधा २ लाखसम्म त कमाउन सकिएला भन्ने आत्मबलका साथ फर्किएको सम्झँदै उनी भन्छन्, “कहिले दुई सिफ्ट त कहिले चौबिसै घण्टा काम गरेर ४ लाखसम्म कमाउँथे । तर यहाँ अहिले कति कमाई हुन्छ भनेर लेखाजोखा गरेको छैन, लेखाजोखा गर्ने बेला पनि भएको छैन तर जापानको कमाइको आधा मात्र होइन त्योभन्दा बढी नै आम्दानी गर्न सकिने आत्मविश्वास चाहिँ अहिलेसम्मको अनुभवले मलाई दिएको छ । अहिले सुरुवात हो बिस्तारै गर्दै गएपछि अब एक डेढ वर्षभित्र न्यूनतम लक्ष्यमा पुग्ने कुरामा विश्वस्त छु ।”

सपना मात्र देखेर हुँदैन त्यो अनुसार गर्नु पर्‍यो समयमै समयलाई चिन्न सक्नुपर्छ भन्ने बिसीलाई थाहा छ । हाम्रो नेपाली कृषि उत्पादनले बजारमा माग धान्न सकिरहेको छैन । बजार प्रशस्तै छ तर उत्पादक र उपभोक्ता बीचको दुरी छोट्याउनु पर्ने उनको बुझाई छ । स्वदेश र विदेशको अहिले सम्मको अनुभव अनुसार उनी भन्छन्– “विदेशमा जस्तै मिहेनतका साथ काम गर्ने हो भने ३÷४ लाख लगानी गरेर पनि महिनामा ५०–६० हजार कमाउन कुनै गाह्रो छैन । ”

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!