जुम्ला, १८ चैत । कनकासुन्दरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ओखर प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न बजेट सहित नीति ल्यायो । सोही अनुसार करिब १९ लाख लागतमा ओखर प्रवर्द्धन कार्यक्रमका लागि बिरुवा खरिद गर्न टेन्डर आह्वान गरियो । स्थानीय व्यक्ति लाल बहादुर जिसीको कनकासुन्दरी एग्रो हबलाई बिरुवा खरिदको टेन्डर पर्यो ।
बोलपत्रमा स्थानीय जातकै ओखरका बिरुवा हुनुपर्ने स्पष्ट उल्लेख भएको छ । सोही अनुसार कनकासुन्दरी एग्रो हबका सञ्चालक लाल बहादुर जिसीले जुम्लाका विभिन्न नर्सरी धनीबाट बिरुवा खरिद गरे । १९ लाख लागतका करिब २ हजार ९ वटा बिरुवा खरिद गरी कनकासुन्दरी पुर्याइयो ।
कनकासुन्दरी गाउँपालिकाका किसानलाई ७५ प्रतिशत अनुदानमा बिरुवा गाउँपालिकाले वितरण गर्यो । बिरुवा रोपिसकेको करिब एक महिनापछि कनकासुन्दरी ४ लेकपरका किसान पुन्न बुढाले पालिकाले ग्राफ्टिङ नगरेका नक्कली ओखरका बिरुवा दिएर ठगेको बताए । ठेकेदार र कृषि शाखाको मिलेमतोमा नक्कली बिरुवा किनेर किसानलाई ठगेको आरोप उनको छ ।
ग्राफ्टिङ नगरिएको बिरुवा वितरण भएको हल्लापछि विभिन्न कृषि विज्ञ ल्याएर समेत बिरुवा जाँच गरियो । सुरुमा जाँच गरिएका ६ वटा बिरुवा मध्य ४ वटा शङ्कास्पद भेटिए । अधिकांश किसान तथा विज्ञले बिरुवा ग्राफ्टिङ नै नभएको ठम्याएका छन् । वितरण गरिएका २९ सय बिरुवामध्ये अधिकांश बिरुवा ग्राफ्टिङ नै नभएका भेटिएपछि खरिदकर्ता कनकासुन्दरी एग्रो हब प्रालीका सञ्चालक लाल बहादुर जिसीले अनुसन्धान गर्दा नर्सरी धनीबाटै बेइमानी भएको बताए ।
सोमबार कनकासुन्दरी गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा खरिदकर्ता, गाउँपालिका भन्दा पनि नर्सरी धनीको बेइमानीका कारण स्याउ किसान, ठेकेदार सबै ठगिएको जिसीले स्पष्ट गरे । केही व्यक्तिले पूर्वाग्राही ढङ्गबाट बोले पनि अहिलेसम्म बिरुवा खरिदको भुक्तानी पनि नलिएको नर्सरी धनीको विश्वास गरेकै कारण समस्या भएको जिसीले उल्लेख गरे । जम्मा २९ सय बिरुवामध्ये साँढे १३ सय बिरुवा मात्रै जुम्ली बिरुवा छन् भने बाँकी १७ सय बिरुवा जुम्ली बिरुवाका नाममा कास्मिरी बिरुवा छन् ।
किसान ठग्नेलाई कारबाही माग
जुम्ली बिरुवाका नाममा कास्मिरीका त्यो पनि ग्राफ्टिङ नै नगरिएका नक्कली बिरुवा बच्ने नर्सरी धनीलाइ कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । जुम्ली बिरुवा भन्दै बाहिरका दलालसंग मिलेर नर्सरी धनी तिला ८ का हंश बस्नेतले जुम्लाका तिला, तातोपानी र कनकासुन्दरीका किसानलाई ठगिरहेको पाइएको छ । नर्सरी धनी हंश बस्नेतका नाममा मुद्दा हाल्ने र कानुनी कारबाहीका लागि अघि बढ्ने कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरवीर रावतले बताए ।
तर यता नर्सरी धनी तिला ८ का हंश बस्नेतले आफूले बाहिरकै मान्छेबाट बिरुवा ल्याएको बताए । बैतडीमा रहेको पुर्चौउली एग्रो हबका निर्देशक दिपक धानुले बिरुवा पठाउने गरेको उनको भनाई छ । नक्कली बिरुवा विभिन्न जिल्लामा पठाउने बैतडीका दिपक धानुलाई रामेछापबाट बिरुवा खरिदकर्ता लाल बहादुर जिसीले जुम्ला ल्याएर १७ सय बिरुवाको क्षतिपूर्ति समेत मागिसकेका छन् ।
नक्कली बिरुवा विक्री गर्ने रविन धानु सञ्चालक रहेको बैतडीको पुर्चौउली एग्रो हब प्रालीका निर्देशक दिपक धानुले विभिन्न जिल्लामा नक्कली बिरुवा विक्री गरेको स्वीकारेका छन् । तर जुम्ली किसानलाई विगतदेखि ठग्ने जुम्लाकै नर्सरी धनीका नाममा दलाली गर्ने हंश बस्नेतलाई तत्काल कारबाही गर्नुपर्ने कनकासुन्दरीका किसानको माग छ ।
यता कनकासुन्दरी एग्रो हबका सञ्चालक लाल बहादुर जिसीले जुम्लामा बिरुवा खरिद विक्रीको विषयमा जुम्लाकै नयाँ घटना भएकोले प्रहरी प्रशासन, स्थानीय सरमा, नागरिक समाज तथा सम्बन्धी निकाय गम्भीर हुन आग्रह गरे ।
किसानहरूद्वारा क्षतिपूर्ति माग
कनकासुन्दरी गाउँपालिकाका स्याउ किसानले आफ्नो क्षतिपूर्तिको माग गरेका छन् । घरघरमा ओखर लगाउने आशा साथ खाल्डा खनेको, मलजल गरेको पानी हाले बापतको क्षतिपूर्ति तत्काल पाउनुपर्ने किसानको माग छ । किसान जङ्ग बहादुर घर्तीले भने,“ओखरका बिरुवा रोप्ने आशामा खाल्डा खन्यौ, बिरुवा रोप्यौ पनि तर अहिले नक्कली बिरुवा देखिएपछि उखेल्नुको विकल्प छैन । न ओखर खेती हुने भयो नत परिश्रम सदुपयोग भयो । त्यसैले किसानले तत्काल क्षतिपूर्ति पाउनुपर्छ ।”
साथै गाउँपालिकाले किसान र समूहलाई प्रति बिरुवा ७५ प्रतिशत अनुदानमा बिरुवा दिएको छ । जसमा व्यक्तिलाई प्रति बिरुवा २ सय र समूहलाई ८ सयका दरले वितरण गरिएको हो । उक्त मूल्यमा किसाने २५ प्रतिशत रकम मात्रै व्यहोरेका छन् । किसानले बिरुवा खरिदमा व्यहोरेको २५ प्रतिशत रकम सहित आवश्यक क्षतिपूर्ति तत्काल पाउनुपर्ने किसान भुपेन्द्र मल्लको माग छ ।




