२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

महोत्तरी, १८ चैत । महोत्तरीका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर बिलखबन्द परेका छन् । महोत्तरीका तरकारी खेती गर्ने किसान तरकारीका बोट सुक्दै गएको देखेर बिलखबन्द परेका हुन् । लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढाएको हो ।

“खेतबारीमा भन्टा, परवल, घिरौँला, झिमनी, करेला, फर्सी र लौकासहितका तरकारीका बिरुवा पानी विना सुकिरहेका छन्”, जिल्लाको भङ्गाहा नगरपालिका–४ का तरकारी किसान चन्देश्वर राय दनुवारले भने,  “पानी पर्दैन, इनार धमाधम सुके, अब के गरौँ ?” उनले बिरक्तिँदै थपे, “बारीमा लहलह बढ्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घरगुजारा केले टार्ने होला ?”

लामो खडेरीले तरकारी बाली बोटमै सुक्न थालेपछि किसानको पिरोलो बढेको हो । यसपालि सिङ्गो हिउँद पानी नपरी बित्यो । चैतमध्ये सकिँदासम्म पानी नपर्दा वैशाखे तरकारीका बोट र लहरा सुक्दै गएका छन् । यो वर्ष तरकारी खेतीका लागि एकपछि अर्को प्रतिकूलताले मन भाँचेको किसानको ठम्याइ छ ।

“नयाँ वर्ष लागेसँगै लकडाउनको मार पर्यो, फलेका तरकारी बजार लान नपाएर बोटमै बुढियो”, सोही बस्तीका अर्का किसान गङ्गाराम महतोले दिक्दारिँदै भने,  “अघिल्लो बाली बोटमै बुढियो, अहिले वैशाखी (गृष्मकालीन) तरकारी बाली पानीबेगर सुक्न थाल्यो ।”

जिल्लाको उत्तरवर्ती क्षेत्रका भङ्गाहा, बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्र तरकारी बालीका लागि उर्वर ठाउँ मानिन्छन् । मुख्य बाली नै तरकारीलाई बनाएका किसान पानीको उपाय नहुँदा अहिले बिरक्तिएका हुन् ।

“बस्ती नजिकै जता हे¥यो, खोलाखोल्सी छन्”, बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले भने, “तर खोलाखोल्सी सिँचाइका लागि नभएर बर्खे भेलमा खेतबारी बगाएर चिन्ता थप्ने मात्र छन् ।” गत वर्षामा रातु नदीको बाढीले बगर बनाएको खेत देखाउँदै महतोले भने, “खै हाम्रो त कर्म नै खोटो पो हो कि क्या हो…?” स्थायी सिँचाइको कुनै व्यवस्था नभएको र अहिलेको लामो खडेरीले बस्तीका इनार धमाधम सुकेपछि पम्पसेट (इनारबाट पानी तान्ने मोटर) को काम पनि सकिएको महतोको भनाइ छ ।

स्थायी सिँचाइको प्रबन्ध हुन नसकेको र इनार चापाकल धमाधम सुकेपछि किसान तरकारीका बोट सुकेको आँखाभरि आँसु टिल्पिल्याउँदै हेरिरहन बाध्य भएका छन् । यसपालि लामो हिउँद पानी नपरी बितेपछि पानीका स्रोतका मुहान सुक्दै जाँदा आफूहरु बिलखबन्दमा परेको किसानको दुःखेसो छ । जिल्लामा मौसमी/ बेमौसमी र वर्षभरिका विभिन्न याम (ऋतु) मा गरी १० हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।

महोत्तरी जिल्लाको कूल खेतीयोग्य जग्गा ६७ हजार ३५२ हेक्टरमध्ये हालसम्म मुस्किलले करीब सात हजार हेक्टरमा मात्र कुलो लाग्ने सिँचाइ सुविधा छ । यसपालिको लामो हिउँदे खडेरीले सिञ्चित जग्गाकै पानीको स्रोतका मुहानसमेत सुक्दै गएकाले अहिलेको बालीमात्र नभएर अब लगाइने बालीका लागि खनजोत गर्नसमेत समस्या परेको किसान बताउँछन् । किसानको यो चिन्ताबीच प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिँचाइलाई मुख्य प्राथमिकतामा राखेर कृषि प्रवद्र्धन कार्यक्रम अघि बढाइएको जनाएको छ ।

यसैगरी, जिल्लाका बर्दिवास र भङ्गाहा नगरपालिकाले सिँचाइ सुविधा विस्तारकै लागि १०० भन्दा बढी इनार निर्माण भइसकेका र यस वर्ष पनि इनार निर्माणका काम भइरहेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!