काठमाडौँ, २१ चैत । पाँच दशकअघि सरकारले खेसरी (दालको जात) उत्पादन र बिक्री वितरणमा बन्देज लगाएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले स्वास्थ्यका लागि हानिकारक भनेर प्रतिबन्ध लगाएको खेसरीको दाल अझै पनि यसको उत्पादन र बिक्री वितरण रोकिएको छैन ।
नेपालको तराईका जिल्लामा अहिले ठूलो परिणाममा उत्पादन गरी दाल, पापड र पकौडामा उपभोग गर्दै आएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य नियमावली २०२७ आएदेखि नै नेपालमा खेसरीको उत्पादन, विक्रीवितरण र उत्पादनमा कानुनी रूपमै बन्देज लगाएको थियो ।
सिराहा औरही गाउँपालिका–५ का अगुवा किसान श्रीदेव यादवले तराईमा अहिले पनि खेसरी प्रत्येक घरमा उत्पादन हुने गरेको बताए । तराईका कतिपय घरमा अहिले पनि खेसरी र मुसुरो दाल मिसाएर खाने चलन रहेकाे बताउँदै उनले अझै बढी त खेसरीको पापड र पकौडा बढी खाने गरिने बताए ।
उनका अनुसार तराईमा दालसहित खेसरी सागका रूपमा पनि खाने गरिन्छ । खेसरी उत्पादन र उपभोग गर्न नहुने विषयमा त्यस क्षेत्रका स्थानीयवासीलाई जानकारी नै नभएको पनि उनले बताए ।
यता, उद्योग वाणिज्य सङ्घ प्रदेश २ का अध्यक्ष ललित शाहले खेसरी स्वास्थ्यका लागि हानिकारक भनिए पनि तराईका ग्रामीण क्षेत्रमा यसको दाल खाने चलन रहेकाे तर बजारतिर भने त्यति धेरै नपाइने बताए । “खेसरी पहिले धेरै परिणाममा उत्पादन हुुनेगथ्र्यो र बजारसम्म पनि आइपुग्थ्यो । अहिले गाउँतिर उत्पादन गरेर गाउँकै बजारतिर बिक्री गरिन्छ भन्ने सुुनिन्छ । ”
स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले नेपालमा पनि यसको उत्पादन र उपभोगमा प्रतिबन्ध लगाएको विभागले जनाएको छ । खेसरी खानासाथ स्वास्थ्य समस्या नआए पनि लगातार वर्षौंसम्म प्रयोग गर्दा शरीर झमझमाउने र बिस्तारै प्यारालाइसिस भएर पूरै शरीर नचल्ने हुनसक्छ ।
विभागका निर्देशक मोहनकृष्ण महर्जनले खेसरी स्वास्थ्यका लागि हानिकारक भन्दै डब्लूएचओले प्रतिबन्ध लगाएपछि विभागले पनि त्यसको उत्पादन र बिक्री वितरण रोकेको बताए । तर सोही विभागका खाद्य अनुसन्धान विज्ञ ईश्वर सुवेदीले भने अहिले पनि खाद्य अनुज्ञापत्र नलिएका पापड, पानीपुरी, बेसनलगायतमा खेसरी प्रयोग हुने गरेको स्वीकार गरे ।
अज्ञानता र चेतनाको अभावले पनि यसको प्रयोग भएको हुनसक्ने उनले बताए । केही वर्षपछि मिश्रित दालको नमुना परीक्षण गर्दा विभागले खेसरी मिसावट भएको फेला पारेको थियो । यद्यपि आजकल त्यस्तो नपाएको सुवेदीले दाबी गरे ।






