२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जाजरकोट, २२ चैत । जाजरकोटमा तोरी उत्पादन गत वर्षको तुलनामा यस वर्ष तेब्बरले घटेको छ । तोरी खेतीको लागि पकेट क्षेत्र मानिने नलगाड नगरपालिकाको कल्पत, डाडागाउँ, टट्टा, चावलेचौर, करुवा, किटेनी, थाप्ला, लहँ, पोखरा, बाँउसेखोला, लविसा, हलचौर लगाएत क्षेत्रमा उत्पादन घटेको छ ।

गत वर्ष ५ मुरीभन्दा बढी नै तोरी उत्पादन भएको थियो । तर यो पटक १ मुरी पनि उत्पादन नभएको नलगाड ४ का तोरी खेती कृषक माया रावलले बताए । ‘घरमा प्रयोग गरेर तोरी तथा तेल बिक्री गरिन्थ्यो यो पटक भएन के बिक्री गर्नु र तेल खानै पुग्ने छैन’, रावलको गुनासो छ ।

तोरीखेती भएको हिउँदे मौसममा पानी नपर्दा उत्पादनमा कमी आएको छ । यस वर्ष तोरी बाली मात्र होइन अन्य गहुँ, जौ, चना, मसुरो बाली पनि राम्रो उत्पादन धेरै घट्ने देखिएको कृषि प्राविधिक टोपेन्द्र विकले बताए । तोरी उत्पादन राम्रो नभएपछि किसान चिन्तित देखिएका छन् ।

तोरी बिक्री गरेर घर व्यवहार चलाउने कृषक यसपटक भने मर्कामा परेका छन् । तोरी उत्पादन कम भएका कारण तोरीको तेल पाउन समेत मुस्किल भएको छ । गत वर्ष ४ सय प्रतिलिटर बिक्री हुने तेल तोरी अभाव भएपछि ६ सय ५० मा बिक्री हुने गरेको छ । उत्पादन घट्दा तेल अभाव भएको छ भने तेलको माग बढेको छ । धेरै कृषकले अन्य बाली भन्दा तोरी कै व्यवसाय गरेर तेल बिक्री गर्ने गरेका थिए ।

हरेक वर्ष किसानले लगाउने बालीको उत्पादन घट्दै गएको छ । अनुकूल मौसम, सिँचाइ सुविधा नहुनु लगाएत कारण बर्सेनि उत्पादन घट्दै गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!