२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, २२ चैत । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ का ३२ वर्षीय विनोद मेहता बाँदर आतंकबाट प्रभावित किसान हुन् । देवानगञ्ज वडा नं ३ मोतिटप्पुमा उनको १५ कठ्ठा खेत छ । हाल उनले आफ्नो खेतमा मकै, गहुँ, पर्वल, लौका लगाएका छन् । तर बाँदरले अन्नबाली खाइदिएर र नाश बनाएपछि उनी हैरान छन् ।

विनोदका अनुसार करिब २५० को सङ्ख्यामा आएका बाँदरले रुग्न बसेका केही मानिसलाई टेर्दैनन् । अझ एक–दुईजना मात्र रुग्न बसेको खण्डमा ज्यानको समेत खतरा रहने विनोद बताउँछन् । बाँदर भगाउन स्थानीय निकायबाट पहल नभएको विनोद गुनासो गर्छन् ।

विनोद मात्र होइन स्थानीय रुपलाल उराउ र देवचरण उराउको गुनासो पनि उस्तै छ । उनीहरु पनि बाँदर आतङ्कबाट हैरान छन् । विनोद, रुपालल र देवचरण मात्र होइन देवानगञ्जका थुप्रै स्थानीय आफ्नो खेतको बाली बाँदरबाट बचाउन मोतिटप्पु पुग्छन् । उनीहरुलाई खाजा–नास्ता पुर्याउँदै रुग्ने पालो दिन घरका अन्य सदस्य त्यस ठाउँ जान्छन् । उनीहरुको दिनचर्या यसरी नै बितेको छ ।

उनीहरुले करिब दुई वर्षअगाडि स्थानीय निकायसँग आफ्नो गुनासो राखेका थिए । तर त्यहाँबाट आफ्नो समस्या सम्बोधन हुन नसकेपछि भने गुनासो राख्न पनि छोडिसके ।

जनप्रतिनिधि भन्छन् : समाधान भेटिएन

देवानगञ्ज गाउँपालिका वडा नं ३ का वडाध्यक्ष अनिलकुमार भगत भने बाँदर भगाउने कुनै पनि उपाय नभएका कारण पीडित किसानको समस्या सम्बोधन हुन नसकेको बताउँछन् । आफूले बेला–बेला मोतिटप्पुको समस्या सुन्दै आएपनि बाँदर भगाउने उपाय नभएको उनको भनाइ छ ।

‘त्यहाँका किसानको गुनासो सुन्दैआएको थुप्रै भयो तर बाँदर धपाउने उपाय के त ?’, प्रतिपश्न गर्दै भगत भन्छन्, ‘के गर्ने त बाँदर धपाउन ? समस्याको कुनै समाधान भेटिएन । अब प्रदेश सरकारसँगै यसबारे सुझाव लिन्छौँ ।’

बाँदर धपाउनका लागि बजेट छुट्टिएको भए पनि कसरी भगाउने भन्नेबारे उपाय नभएको उनको भनाइ छ । अन्यत्र लगेर छोडिँदिँदा पनि आइहाल्ने भएका कारण रुगेर आफ्नो बालीको रक्षा गर्नुबाहेक अरू विकल्प नभएको उनको जिकिर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!