काठमाडौं, २३ चैत । काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले नाकामा एन्टीजेन परीक्षण गरिनुपर्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यका प्रवेश गर्ने सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने बताए ।
तत्कालको लागि सवै यात्रुको हकमा एन्टीजेन परीक्षण अनिवार्य नगरिए पनि शंका लागेको व्यक्तिलाई परिक्षण गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको समेत उनले जानकारी दिए ।
कोरोना संक्रमण जोेखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम केही दिन देखी सुरु गरिएको थियो । एक साता अघि देखि ‘नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य कार्यालयबाट खटिएकाले कर्मचारीले ज्वरो नाप्ने काम गरिरहेको उनले बताए । कोरोनाको जोखिम बढिरहेकोले आगामी दिनमा अझ कोरोना संक्रमण भित्रन नदिन अझै कडाईका साथ काम अघि बढाउने समेत उनकाे भनाइ छ ।




