२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नेपालगञ्ज, २४ चैत । बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरीका थलबहादुर थापाले मौरीपालन गरेर वार्षिक साढे चार लाख रुपियाँ मुनाफा हासिल गरिरहेका छन् ।
एक दशक अघि चितवनमा आफन्तको घरमा जाँदा मौरीपालन गरेको देखेर बाँकेमा आई मौरीपालन शुरु गरेका थापाले घरमै बसेर बार्षिक ६ लाख रुपियाँको मह बिक्री गरी साढे चार लाख रुपियाँ चोखो नाफा कमाउने गरेको बताए ।

थापाले अहिले तारा मौरी फर्म खोलेर व्यवसायिक रुपमा ७५ घारसम्म मौरी पाल्दै आईरहेका छन् । उतिबेला रहरमै सुरु गरे पनि मौरी पालनवाट राम्रो आम्दानी हुनुका साथै तालिम लगायत अन्य सहयोग प्राप्त हुन थालेपछि २०७० सालदेखि लगानी विस्तार गरी व्यवसायिक मौरी पालन शुरु गरेको उनी बताउँछन् ।

अहिले वार्षिक १० क्विन्टल मह उत्पादन गरेर ६ लाख रुपियाको बिक्री गर्ने गरेको जनाउँँदै उहाँले सबै खर्च कटाएर वर्षमा साढे चार लाख रुपैया मुनाफा हुने गरेको बताए ।
पछिल्लो समय महको माग बढ्दै गएपछि बजारको समेत अभाव नभएको उनको भनाइ छ । उनले महको माग जिल्लाका विभिन्न स्थानबाट अत्याधिक रहेको पनि बताए ।

माग अनुसार मह उत्पादन गर्न नसकिएको बताउँदै थापाले यो व्यवसायमा बेरोजगार युवा लगायत अन्य कृषकहरु लागेर परिपूर्ति गर्न सकिने ठूलो सम्भावना रहेको जनाए ।
पैसा कमाउन जागिर नै खानुपर्छ, या त विदेश नै जानुपर्छ भन्नेका लागि थलबहादुर उदाहरणीय पात्र बनेका छन् । उनले इच्छाशक्ति भए थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने प्रमाणित गरे ।

थोरै लगानी, कम मेहेनत र सानो क्षेत्रफलमा सजिलैसँग गर्न सकिने भएकोले नेपालमा मौरीपालन व्यवसायको राम्रो सम्भावना छ । पछिल्लो समयमा कोरोना महामारीका कारण धेरै युवाहरु बेरोजगार भई बसिरहेका बेला गाउँ घरमै स्वरोजगार बन्न सकिने मौरीपालन व्यवसाय गरी युवाहरुलाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ ।

सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा स्वरोजगारमूलक व्यवसायलाई प्रोत्साहन गरी यस्तो व्यवसायतर्फ युवाहरुलाई आकर्षित गर्न जरुरी रहेको जनाउँदै थापाले यसतर्फ सबैको ध्यान जानु जरुरी रहेको कुरामा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!