२०८२ आश्विन १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २६ चैत ।  मोरङको उर्लाबारी–८ स्थित मन्जिल एग्रीकल्चर कम्पनीले २०७४ को वैशाखमा सुरु गरेको मत्स्य पर्यटनसहितको बृहत् माछापालन अहिले पूर्वी मोरङको नयाँ पर्यटकीय गन्तब्य बनेको छ ।

विभिन्न जातका माछा र स्थानीय जातका कुखुराको मासु खान एवं जल बिहार गर्न त्यहाँ पुग्ने पाहुनाको सङ्ख्या दैनिक बढिरहेको सञ्चालक डिल्लीराम न्यौपानेले बताए । अहिले न्यौपाने र नीलप्रसाद गौतमले ११ बिघा जग्गामा चार बिघाको जलाशययुक्त पोखरीमा माछापालन गरिरहेका छन् ।

वार्षिक २६० मन धान ठेक्का बुझाउने सर्तमा १५ वर्षका लागि जग्गा लिजमा लिएर ब्यवसाय सुरु गरेको उहाँहरूको भनाइ छ । चार बिघाको एउटै जलाशय क्षेत्रमा नौका बिहार गर्ने ब्यवस्था मिलाइएपछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

उनीहरूले माछाका भुरासमेत आफैं उत्पादन गर्न चार वटा पोखरीमा भुराको नर्सरी राखेका छन् । नर्सरी पोखरीमा रहु, नैनी, कमल,विगेट,सिल्भर, ग्रास र भ्याकुर जातका भुरा छन् । तिनै भुरालाई ठूला पोखरीमा सारेर पाल्ने गरेको न्यौपानेले बताए ।  वार्षिक ५० लाख रुपियाँको माछा उत्पादन गर्ने र बिक्री गर्ने महत्वाकांक्षी लक्ष्यका साथ माछापालन सुरु गरेका ब्यवसायीहरू हाल माछा उत्पादन र श्रमिकका लागि दैनिक आठ हजार रुपियाँ खर्च भइरहेको बताउँछन् ।

माछाको दानापानी ब्यवस्थापन,होटल सञ्चालन र रिसोर्ट सञ्चालनका लागि कम्पनीले १२ जनालाई रोजगार दिएको छ । ब्यवसायी न्यौपानेले भने, ‘पहिलो वर्ष लक्ष्य अनुसार उत्पादन गर्न सकेनौं तर २० लाख रुपियाँको माछा बजार गयो ।’ विषयवस्तुको तालिम र अध्ययन बिना नै ब्यवसायमा हात हालेकोले लक्ष्यअनुसार उत्पादन लिन नसकेको न्यौपाने र गौतमको भनाइ छ । तर, पछिल्ला वर्षहरूमा ब्यवसाय घाटामा नगएको उनले बताइ ।

२५ लाख रुपियाँ लगानी गरी पोखरी खनेका न्यौपाने र गौतमले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट दुई लाख २० हजार रुपियाँ अनुदान पाए यता कुनै पनि सरकारी सहयोग पाउनुभएको छैन । उहाँहरूले पोखरी परिसरलाई सुरक्षित गर्न सात लाख रुपियाँ खर्चेर तार घेरा गरिसकेका छन् । माछापालन र मत्स्य पर्यटनको पूर्वाधार निर्माणमा उहाँहरूले हालसम्म चार करोड ५० लाख रुपियाँ खर्च गरिसकेका छन् ।

११ बिघा जमिनभित्र बनभोज स्थल,बाल उद्यान,फेमिली टावर, रोज एण्ड भ्यू टावर, होटल ,सेल्फी टावर र फुटेज गार्डेन निर्माणको निर्माण सम्पन्न छ । सम्पूर्ण पूर्वाधार तयार भइसक्दा कुल साढे ५ करोड रुपियाँ लगानी हुने ब्यवसायी न्यौपानेले बताए । ठूलो माछापोखरी भएकोले पोखरीमा मोटरबोट समेत सञ्चालन गरिएको छ । बाल उद्यान र मोटरबोट नेचुरल फनपार्क एण्ड रिसोटको पहिलो रोजाइ हुने गरेको छ ।

उनीहरूले माछापोखरीको बरिपरि एक बिघा ८ कट्ठा जग्गामा २० प्रजातिका सिमसार युक्त वनस्पति रोपिसक्नु भएको छ । त्यसैगरी मत्स्यपालन क्षेत्रमा ६० वटा हाँस, १५० वटा स्थानीय जातका कुखुरा पालेका छन् । कम्पनीले मत्स्यपालनको अवलोकन गर्न आउने पाहुनालाई इच्छा अनुसार माछा झिकी ,पकाएर खान दिने,किन्न दिने र आवासका लागि होटलको समेत व्यवस्थापन गरिएको सञ्चालक गौतमले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!