
एजेन्सी, २६ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो डोजको खोप लगाएका छन् । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युड अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले खोप लगाएका हुन् ।
“मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको छु,” सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् । यो खोपले कोरोना भाइरसविरुद्ध लड्न सहयोग गर्ने विश्वास पनि व्यक्त गर्दै उनले खोप अभियानमा सहभागी हुन सबैलाई आह्वान गरे ।
प्रधानमन्त्री मोदीले पहिलो डोज गत मार्च १ मा लगाएका थिए । भारतले कोरोनाभाइरस विरुद्धको खोप ठूलो मात्रामा उत्पादन गरेर आफ्नो देशका जनतालाई लगाइदिनुका साथै अन्य धेरै देशहरुलाई पनि उपलब्ध गराएको छ ।
कोरोनाविरुद्धको खोप उत्पादन र वितरणमा भारतका नेतृत्वदायी र उल्लेखनीय भूमिका खेलेको छ । तैपनि भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुदै गएको छ ।