२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

हरिनगर, ३१ चैत । सुनसरीको हरिनगर गाउँपालिकाका किसान रामलाल मेहताले भारतको इन्दोरमा रहेका साथीबाट गत वैशाखमा १४० केजी कालो गहुँको बीउ ल्याएका थिए । हरिनगर–३, गौतमपुरका किसान मेहता कालो प्रजातीको गहुँको विषयमा सुरुमा सुन्दा अचम्मित भएका थिए । तर, उनी त्यही नयाँ प्रजातीको गहुँ फलाउन सफल भएका छन् ।

मेहताले कालो गहुँ सुगर फ्री क्लाक फलाएका हुन् । मेहताले कात्तिकमा चार बिघामा छरेर प्रतिबिघा ७० मन उत्पादन गरे । विश्वभर कालो गहुँको माग बढेको भारतका साथीबाट सुनेर प्रेरित भई आफूले जिल्लामै पहिलो पटक यो गहुँ उत्पादन गरेको बताए ।

केही वर्षअघि भारतका एक किसानले नयाँ अनुसन्धानपछि पत्ता लगाएको कालो गहुँ पहिलो पटक नेपाल ल्याइएको हो । मध्यप्रदेशका किसान विनोद चौहानले प्रयोगका लागि कालो गहुँको खेती गरेको र हाल भारतको इन्दोरसहित नेपालमा पनि सफल उत्पादन भएको मेहताको भनाइ छ ।

मेहताले कालो गहुँको मागका बारेमा थाहा नभएकाले यसको बजार नभएको तर यसका उपयोगिताबारे थाहा भएपछि बिस्तारै विस्तार हुने बताए । यस पटक उनले चार बिघामा एक क्विन्टल ४० केजी गहुँ छरेका थिए । उनले यस गहुँको बीउ प्रतिकेजीमा ३६५ रुपियाँमा किनेका हुन्। त्यसबाट उनले ११२ क्विन्टल गहुँ उत्पादन गरिसकेका छन् ।

जानकारहरूका अनुसार कालो गहुँमा एन्थोसायनिनको मात्रा सामान्य गहुँको तुलनामा प्रतिमिलियन १४९ बढी हुन्छ । योसँग उच्च जिङ्क तत्व पनि रहेको हुन्छ । कालो गहुँमा रहेको इथोसाइनिनको कारण सुगर फ्री हुन्छ । जानकारीअनुसार स्टार्च पनि कम हुन्छ । यस्तो अवस्थामा कालो गहुँको रोटी उपभोग गर्दा मधुमेहका बिरामीलाई फाइदा हुन्छ । कालो गहुँको रोटी खाँदा पाचन क्षमता पनि छिटो बढ्छ ।

विज्ञहरूले कालो गहुँका धेरै फाइदा भएको बताउँछन् । उनीहरूका अनुसार कालो गहुँमा अनुसन्धान अझै भइरहेको छ । यद्यपि यसमा एन्टिअक्सिडेन्टको मात्रा उच्च हुन्छ । यसले क्यान्सरका बिरामीलाई फाइदा पुर्याउँछ । कालो गहुँ क्यान्सर रोकथाममा फाइदाजनक हुने विज्ञहरूको दाबी छ । यसले बोसोको मात्रा पनि कम गरी मोटोपन घटाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!