२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

डुमरलाल मेहता
देवानगञ्ज, ३१ चैत । सुनसरीको देवानगञ्ज–२ घर भएका रमानन्द मेहता अहिले व्यवसायिक तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् । १६ वर्ष अर्काको खेतमा काम गरेका उनी केही समययता भने आफूले दुःखले जोडेको बारी र लिजमा लिएको जग्गामा तरकारी खेती गर्दै आइरहेका छन् ।

हाल उनी उमेर ५२ वर्ष पुगे । तर बढ्दो उमेरमा पनि उनको चढ्दो जाँगर देखिन्छ । दिनभरि खेतीको काममा व्यस्त रहने उनी भन्छन्, ‘मान्छेको दुःख कहिले सकिँदैन । १६ वर्ष अर्काको खेतमा काम गरेँ । गोठाला बसेँ । त्यतिबेला बहुत दुःख थियो । अहिले पनि दुःख नै छ तर पनि आफ्नो बारीमै भएका कारण सन्तुष्ट छु ।’

१७ वर्षकै उमेरमा बिहे गरेर घरजम गर्दा उनीसँग भरपर्दो काम थिएन । दुई ज्यान पाल्न गाह्रो भएकै बेलामा उनले लिजमा जग्गा लिएर खेती गर्न सुरु गरे । सुरुआती दिनमा उनले मुख्य तीन बाली (धान, गहुँ, मकै)लगायत लगाउँथे ।

तर वर्षभरि नङ्ग्रा घोट्दा पनि उनलाई पुग्दो भएन । खानमात्रै पुग्थ्यो कहिलेकाँही बेच्न पाउँथे । किनकि उनले लिजमार्फतको रकम पनि तिर्नुपर्थ्यो । घाटा नभए पनि खासै फाइदा पनि भएन । फाइदा नदेखेपछि उनले व्यवसायिक तरकारी खेती गर्ने मनसाय बनाए । त्यसपछि भने उनलाई लाउन–खान त्यति कठिन परिस्थिति आउन पाएन ।

उनले आफ्नो मात्र हैन अरू १० जनाको पनि चुल्हो बाल्ने काम गरेका छन् । व्यवसायिक तरकारी खेतीबाट उनले आठ कठ्ठा खेत पनि किनेका छन् । हाल जम्म चार बिघामा तरकारी लगाउँदै आएका रमानन्दले उत्पान भएको उपज बिर्तामोडदेखि काठमाडौँसम्म पुर्याउँछन् ।

त्यसबाट खर्च कटाएर वार्षिक चार लाख नाफा आउनको उनको भनाइ छ । उनले लगाएको काँक्रा, गाँजर, बैगुन, साग, भिन्डीलगायतको तरकारी लिनका लागि टाढा–टाढाका व्यापारी गाडी लिएर घरमै आइपुग्छन् । त्यसकारण पनि आफ्नो जिम्मेवारी बढेको रमानन्द सुनाउँछन् ।

उनी भन्छन्, ‘टाढा–टाढाबाट व्यापारी तरकारी लिन घरमै आइपुग्नुहुन्छ । हाम्रै तरकारीको आशमा धेरैजना रहनुहुन्छ यसकारण पनि खेतीलाई बर्सेनि विस्तार गर्ने गरेको छु । अनि प्रतिविघा ८० हजार खेतको भाडा नै तिर्छु । फेरि जनको पनि चुल्हो बाल्नैपर्छ । यसैले पनि जिम्मेवारी बढेको महसुस हुन्छ ।’

उनले स्थानीय तेजनारायण भगत, हरिलाल यादव, बमबोली भगत, मुक्तिनारायण झालगायतको गरी जम्मा चार विघा जग्गा लिजमा लिएका छन् । आफैँले किनेको आठ कठ्ठा जग्गामा भने मुख्य बाली लगाउने गरेका छन् ।

भाइलाई तरकारी खेती सिकाए

रमानन्द दुई दाजुभाइ हुन् । उनका भाइ सदानन्द पनि तरकारी खेतीमै व्यस्त हुन्छन् । सदानन्द देवानगञ्ज गाउँपालिकामै सबैभन्दा धेरै गाँजरको खेती गर्ने किसान हुन् । सानैदेखि दाजु रमानन्दसँग सिकेर खेती–किसानी गर्दै आएका सदानन्दले विगत केही वर्षयता स्थानीय अस्रुद्धिन अन्सारीको दुई बिगाहा खेती लिजमा लिएर तरकारी खेती गर्दै आएका छन् ।

लिजमा लिएको जग्गाबाट उनी वार्षिक ६० हजार बुझाउँछन् । लिजमा लिएको जग्गामा गाँजर खेती गर्दैछन् । त्यसबाहेक आफ्नौ १४ कठ्ठामा मकै, केरालगायत बाली लगाएका छन् । सदानन्दले पढ्न पाएनन् । सामान्य लेखपढ मात्र गरेका सदानन्ले आफ्ना सन्तानलाई भने बोर्डिङ स्कुलमा पढाएका छन् ।

उनका एक छोरा र दुई छोरी छन् । जेठी छोरी भने अहिले क्याम्पस पढ्ने भइसकेकी छन् । उनलाई सदानन्दले छ कक्षासम्म बोर्डिङ स्कुलमा पढाएका थिए । अहिले एक छोरा र एक छोरी बोर्डिङमै अध्ययनरत छन् ।

स्थानीय सरकारबाट सहयोग नपाएको गुनासो

सानैदेखि कृषि पेशा अँगालेका रमानन्दले आफ्नो कर्मलाई निरन्तरता दिइरहेका छन् । तर स्थानीय सरकार बनेको यतिका वर्ष बित्दा पनि रमानन्दले त्यहाँबाट सहयोग पाउन सकेका छैनन् ।

रमानन्द र उनका भाइ सदानन्दको पनि गुनासै एउटै छ । ‘कृषि मन्त्रालयमार्फत आउने विभिन्न अनुदानहरू आफ्नो पहुँचभन्दा बाहिर छन् । सरकारले विभिन्न अनुदान पठाएको समाचारमा मात्र सुनिन्छ कार्यान्वयनमा शून्य छ । मलाई लाग्छ, माथि–माथिबाटै बजेट सकिन्छ । अथवा पहुँचयोग्य मान्छेले खान्छन् । नत्र मेरो मकै फौजी किराले सखाप पारिदिँदा पनि स्थानीय सरकारले केही सहयोग किन गरे ?’, सदानन्दको प्रश्न छ ।

यता, दाजु रमानन्द पनि आफ्नो तरकारी बालीमा भएको क्षतिको निवेदन दिए पनि सुनुवाइ नै नभएको बताउँछन् । ‘जे गर्नु छ आफ्नै गर्नु छ । स्थानीय सरकारबाट सिन्को पनि पाएका छैनौँ । घर–घरमा सिंहदरवा भन्थे जति नजिक सरकार आए पनि काम लागेन । कुर्सीलाई होइन कृषिलाई प्राथमिकतामा राख्ने सरकार चाहियो’, रमानन्द भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!