२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान, ६ वैशाख । सुनसरीको धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड–१९ अस्पतालमा उपचारका लागि भर्ना हुनेहरूको सङ्ख्या बढेको छ । एक महिना अघि शून्य झँै रहेको विरामी भर्ना एकसाता यता बढेको हो ।

नेपाल भारत सीमाको विहारसहित विभिन्न प्रान्तमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै सुनसरीमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै बढेकाले भर्ना दर पनि बढेको हो । सङ्क्रमितको सङ्ख्या बढेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका लागि भर्ना हुनेहरूको सङ्ख्या एकसाता यता उल्लेख्यरूपमा वृद्धि भएको अस्पतालले जनाएको छ ।

यसअघि करिब तीन महिना जति सुनसान जस्तै रहेको प्रतिष्ठानको कोभिड अस्पतालमा पछिल्लो समयमा १५ जना भर्ना भएका छन् । तीमध्ये दुईजना आइसियुमा र दुईजना हाईडिपेण्डेन्सी युनिटमा भर्ना भएका छन् । प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार शनिबारमात्र पाँचजना नयाँ सङ्क्रमित भर्ना भएका छन् । थपिएका नयाँ सङ्क्रमितहरूमा कोरोनाको कुन भेरियण्ट हो भन्ने अहिलेसम्म जानकारीमा आएको छैन ।

कोरोनाको नयाँ भेरियण्ट तीव्र सङ्क्रमण गर्ने खालको भएको वैज्ञानिकहरूले बताउँदै आएका छन् । प्रतिष्ठानमा १५ आइसियु, २५ हाईडिपेण्डेन्सी युनिट (एचडियु) र ६० जनरल बेड रहेका छन् । ती बेडहरूमा प्रतिष्ठानले अक्सिजन आपूर्तिका लागि अक्सिजन प्लाण्टबाटै जोडिएको अक्सिजन पाइपलाइन जोडेको डा. पोखरेलले बताए ।

यता स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा बढी इटहरी उपमहानगरपालिकामा २० जना, धरान उपमहानगरमा १५ जना र इनरुवा नगरपालिकामा ५ जना कोरोना सङ्क्रमित थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!