
बर्जु, ७ वैशाख । प्रहरीले काका ससूराको घरमा डकैती गर्ने एक महिलासहित पाँच जना पक्राउ गरेको छ । सुनसरीको बर्जु गाउँपालिका वडा नं.१ वस्ने सुभाष चौधरीको घरमा लुटपाट गरेको आरोपमा उनकै भतिजी बुहारी सिर्जना चौधरीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गत फागुन ६ गते रातको साढे १२ बजे सुभाषको घरमा हतियारधारी डाकाको समूहले घर परिवारलाई कुटपिट गरी नगद ५४ हजार रुपैयाँसमेत लुटेर लगेका थिए । घटना सम्बन्धमा प्रहरीले सुभाष चौधरीकी भतिजी बुहारी सिर्जना चौधरी, सिर्जनाका भाइ प्रमेश चौधरी, मर्तुजा मिया, अजिम मिया, नजामुद्दिन मियालाई पक्राउ गरी सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा सिर्जनाले आफ्नै ‘डिजाइन’मा काका ससूराको घरमा डकैती गरेको रहस्य खुलेको हो ।
कसरी भयो घटना ?
सिर्जनाका श्रीमान वैदेशिक रोजगारमा रहेका छन् । २०७७ साल जेठ २३ गते रातको समयमा सिर्जना चौधरीको घरमा गाँउका मानिसहरू प्रवेश गरी घर तथा निजको स्कुटरसमेत तोडफोड गरेको विषयमा इलाका प्रहरी कार्यालय दुहवीमा सिर्जना चौधरीले मुद्दा दर्ता गराएकी थिइन् ।
उनले सो घटना आफ्नै काका ससूरा सुवाष चौधरीले गराएको भन्ने शंका गरेकी थिइन् । श्रीमानको हकमा परेको पैत्रिक अंशसमेत वेचविखन गरी तीस लाख आफैँले घरमै राखेको भनी रिसिबी साँध्ने सोच बनाई सिर्जनाले काका ससूराको घरमा लुटपाट गर्ने योजना बनाइन् ।
माथि उल्लेखित प्रतिवादीहरूलाई घरमा वोलाई सिर्जनाले डकैती गर्ने योजना बनाइन् । माथि उल्लेख गरिएका प्रतिवादीहरूमध्ये मर्तुजा मिया, अजिम मिया, चोरी मुद्दामा र सिर्जनाका भाइ प्रमेश चौधरी जवरजस्ती करणी मुद्दामा २०७५ सालदेखि झुम्का कारागारमा एकसाथ थिए । सिर्जनाले भाइ प्रमेशलाई भेट्न क्रममा उनीहरूबीच चिनजान भएको थियो ।
उनीहरू सबै कारागारमुक्त भएपछि योजनाले सफलता पाएको थियो । सिर्जनाले हाम्रो भागमा परेको अंशको तिस लाख काका ससुराले घरमा राखेका छन् । डाका गरी बाँड्नु पर्छ भन्दै योजना अघि सारिन् । त्यसपछि प्रतिवादी नजामुदिन मियालगायत अर्का एक जना भारत वीरपुर गई भारु २० हजारमा पेस्तोल र एक थान गोलीसमेत किने ।
फागुन ५ गते दिउँसो दुई बजे सर्वन उराव र सिर्जना चौधरीले अजिम मिया, नजामुद्दिन मिया र अर्का एक जनासमेतलाई मोरङको नेमुवा चौकीभन्दा पश्चिममा रहेको म्याजिक चप्पल उद्योग नजिक बोलाइन् ।
उनले आज हामी विवाहमा जान्छौँ तिमीहरूले सुभाष चौधरीको घरमा डाका गर्नु भन्ने निर्देशन दिइन् र सुभाष चौधरीको घरमा प्रवेश गर्ने बाटोसमेत देखाइ दिइन् । त्यसपछि सिर्जनाबाहेक अरु प्रतिवादीहरू मिलेर फागुन ६ गते सुभाष चौधरीको घरमा लुटपाट गरेका थिए ।