इनरुवा, ८ वैशाख । सुनसरीको सदरमुकाम इनरुवाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका वडा नं. १९ बस्ने ६६ वर्षीय टेकबहादुर तामाङ, सुनसरी हरिनगर गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय नजिम साफि र धरान उपमहानगरपालिका वडा नं. १७ बस्ने महेन्द्र तामाङ छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले नक्कली नोटसहित पक्राउ गरेको हो । बुधबार इनरुवा नगरपालिका वडा नं ४ स्टार होटल अगाडिबाट पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार सुनसरीसहित पूर्वी नेपालका विभिन्न क्षेत्रमा नक्कली नोटको कारोबारमा सक्रिय रहेका भनिएका उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको साथबाट ४ लाख १५ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको उनले जानकारी दिए ।




