देवानगञ्ज, ९ वैशाख । विवेकशील साझा पार्टी, सुनसरीले पेट्रोलियम पदार्थको तस्करी गर्नेविरुद्ध बोल्दा उल्टै आक्षेप लागेको भन्दै आपत्ति जनाएको छ । बुधबार विज्ञप्ति निकाल्दै विवेकशील साझाले देवानगञ्ज गाउँपालिका–२ का भगत आयल ट्रेडर्स गुप्ता आयल ट्रेडर्सले गरिरहेको पेट्रोलियम पदार्थको कालोबजारीको विषयमा आवाज उठाउँदा आफूहरूमाथि नै आक्षेप लागेको भन्दै आपत्ति जनाएको हो ।
गत २६ चैतमा पेट्रोलियम पदार्थको कालोबजारी रोक्न माग गर्दै विवेकशील साझा पार्टीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । ती दुई पेट्रोल पम्पले पेट्रोल र डिजल कालोबजारी गरिरहेको जनाउँदै कारवाहीको मागसहित जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेललाई ज्ञापनपत्र बुझाएको थियो ।
त्यसपछि जिप्रकाले नेपाल आयल निगमलाई ती दुई पेट्रोल पम्पमा तेल नदिन आग्रह गर्दै चिठ्ठी लेखेको थियो । यस्तै गाउँपालिकालाई पनि टोकन सिस्टम लागू गर्न निर्देशन दिएको थियो । त्यसपछि देवानगञ्ज गाउँपालिका प्रमुख, जनप्रतिनिधि, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालयका प्रतिनिधिलगायतको बैठकले ३० लिटरभन्दा बढी डिजेल नदिने र पाँच लिटरभन्दा बढी लिँदा सिफारिस अनिवार्य गर्ने निर्णय गरेको थियो ।
एक साताअघि गाउँपालिकाले गरेको उक्त निर्णयले सर्वसाधारण, किसान, शिक्षक तथा व्यापारीलाई प्रभाव परेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । उनीहरूले स्थानीय प्रशासन मात्र नभएर विवेकशील साझाका कारण पनि सास्ती भोग्नुपरेको गुनासो गरेको साझाका अभियान प्रमुख सञ्जय कर्णको भनाइ छ ।
कर्णद्वारा जारी विज्ञप्तिभा भनिएको छ, ‘इन्धनमा भइरहेको कालोबजारीको विषयलाई लिएर सर्वसाधारणकै हितका लागि ज्ञापनपत्र बुझाइएको हो । तर सञ्चारमाध्यमले विवेकशीलकै ज्ञापनपत्रका कारण स्थानीलये सास्ती भोग्नुपरेको भन्ने समाचार प्रकासन–प्रसारण गरिदिएकोप्रति हाम्रो गम्भीर आपत्ति छ ।’
पेट्रोलियम पदार्थको कालोबजारी रोक्नका लागि स्थानीय प्रसाशनले लगाएको टोकन सिस्टमलाई व्यवस्थित गर्न वा अन्य भरपर्दो सहज उपाय अवलम्बन गरी स्थानीय इन्धन उपलब्धता सहज बनाइदिन पनि साझाले जिल्ला प्रशासन कार्यालय सुनसरीसमक्ष ध्यानाकर्षण गराएको छ ।
साझा सुनसरीका अभियान प्रमुख कर्णले साझा पार्टीले कालोबजारी रोक्न र तेलको आपूर्ति सहज बनाउने आफ्नो पार्टीको उद्देश्य रहेको उल्लेख गर्दै साझा पार्टी नागरिकको हक–हितको पार्टी भएको पनि उल्लेख गरेका छन् ।





