२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ११ वैशाख । सरकारी सडकको ट्रयाक खन्ने क्रममा एक परिवारले प्रहरीकै अधिकृतकै अगाडि जेसिबी जलाए पनि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मा सडकको ट्रयाक खन्ने क्रममा स्थानीय सासूबुहारी मिलेर कारिख कन्स्ट्रक्सनको जेसिबी जलाए पनि कानूनी कारबाहीमा प्रहरी उदासिन बनेको पीडित पक्षको आरोप छ ।

वैशाख ४ गते मोरङको पथरीशनिश्चरेमा बाटो खन्न गएको स्काभेटरमाथि स्थानीय पदमदेवी उप्रेती र बेनिशा चौलागाईले आगजनी र तोडफोड गरेका थिए । पथरीशनिश्चरे–५ मा बाटो खोल्न गएको को.१ क १९९३ नम्बरको स्काभेटरमाथि आगजनी र तोडफोड गर्ने पदमदेवी र बेनिशा सासू–बुहारी हुन् । नेपाल सरकारको नक्सामा रहेको बाटो उप्रेती परिवारले भोगचलन गर्दै आएका थिए । स्थानीय महाराजथान समितिले बाटो खोल्ने भएपछि विवाद उत्पन्न भएको थियो ।

बाटो आवश्यक भएका कारण समितिले बाटो खोल्ने विषयमा बैठक पनि बसेको थियो । तर पटक–पटक वडा र नगरमा बसेको छलफल तथा बैठकमा उप्रेती परिवारले बाटो नछोड्ने अडान राखेका थिए । त्यसपछि नगरले वडाको रोहवरमा बाटो खोल्ने निर्णय गर्दै ४ वैशाखमा स्थानीय, जनप्रतिनिधि र प्रहरी प्रशासनकै रोहवरमा स्काभेटरले बाटो खोल्न सुरु गरेको थियो ।

May be an image of outdoors

वैशाख ४ गते शनिबार मध्याह्न १२ बजे प्रहरी अधिकृतका साथै वडाध्यक्ष जोगबहादुर धिमाल, सदस्य रेवत बस्नेतलगायतको उपस्थितिमा सडकको ट्रयाक खोल्ने क्रममा आफ्नो जग्गाबाट सरकारी बाटो लाने प्रयास भएको भन्दै सासू–बुहारीले बाटो खनिरहेको स्काभेटरमाथि सासू–बुहारीले पाँच लिटर पेट्रोल छर्केर आगो लगाइदिएका थिए ।

अपराह्न ४ बजे प्रहरीले सासू–बुहारीलाई पक्राउ गरेको थियो । तर बेलुकी ८ बजे नै छलफल र सहमतिविना प्रहरीले सासू–बुहारीलाई छोडिदिएको थियो । प्रहरी अधिकृतकै अगाडि स्काभेटरमाथि आगजनी र तोडफोड हुँदासम्म प्रहरीले जाहेरी नलिनु र कारवाही प्रक्रिया अगाडि नबढाउनुले प्रहरीबाट न्याय पाइन्छ भन्ने कुरामा शङ्का उब्जिएको स्थानीयको आरोप छ ।

यता, स्काभेटर सञ्चालक सञ्जय साह प्रहरीले उनीहरूलाई कारवाही नगरी र क्षतिपूर्ती नतिराइ छोडिँददा पीडित बनेका छन् । उनका अनुसार आगजनी र तोडफोड हुँदा २ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ । जेसिबीको भौतिक र हेल्टेजमा क्षति पुगेको उनले बताए ।

उक्त घटनामा पीडित पक्षले कारवाही र क्षतिपूर्तिको मागसहित इलाका प्रहरी कार्यालय पथरीलाई उजुरी दिएका थिए । तर हालसम्म पनि आरोपितलाई पक्राउ गर्न नसक्दा आफू पीडित बनेको सञ्चालक साहले बताउँछन् । घटना भएको यति दिनसम्म पनि उनीहरूमाथि कारवाही हुन नसक्नु राजनीतिक दबाब भएको उनको ठहर छ ।

प्रहरीले नियन्त्रणमा नलिनुको कारण भने उप्रेती प्रधानमन्त्री केपी ओलीसँगको नाता सम्बन्धमा रहेको खुलेको छ । उप्रेतीको परिवार विगत तीन पुस्तादेखि त्यहाँ बसोबास गर्दै आएको बताइन्छ । उनीहरूले त्यहाँ जग्गा कमाउँदै आएका थिए । सो बराबरको मोहियानी हकबापत ४ कठ्ठा ४ धुर जग्गा प्राप्त गरिसकेका छन् ।

वैशाख ६ गते क्षतिपूर्ति तिरे मिल्ने मिलाउने प्रयास भए पनि उप्रेतीले एकै पैसा नतिर्ने बरु जेल जान तयार रहेको भनी प्रहरीकै अगाडि धम्कीपूर्ण भाषा प्रयोग गरेको वडाध्यक्ष जोगबहादुर धिमालले बताए ।

यता, पथरीशनिश्चरे नगरपालिका उपाध्यक्ष यमुना विष्ट बास्तोलाले पीडित साहले क्षतिपूर्ति पाउने बताएकी छन् । पटक–पटक न्यायिक समितिको बैठकमा उपस्थित नभएको र मिल्ने कुरामा सहमति नजनाएकी पदमदेवीले स्काभेटर जलाउनु ज्यादती भएको उल्लेख गर्दै उनले जति नै पहुँच भए पनि कारवाहीको दायरामा ल्याउने बताइन् ।

‘जति नै राजनीतिक पहुँच भएको व्यक्ति किन नहोस् कानून मिचेपछि कारवाहीको दायरामा आउँछ’, उनले ग्रामीण खबरसँग भनिन्, ‘अहिले म न्यायिक समितिको कामले बाहिर छु । आएपछि कारवाही प्रक्रिया अघि बढाउँछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!