२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर ,१२ बैशाख । पूर्वाञ्चल विश्वविद्यालयको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले कर्मचारी र बिचौलियासहित १० जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ८ जना विद्यार्थी छन् । एकजना विचौलिया र अर्का एक विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् ।
प्रश्नपत्र आउट प्रकरणमा विराटनगर महानगरपालिका–८ का ४४ वर्षीय कोमलप्रसाद गौतम, संखुवासभा मादी घर भएका ३५ वर्षीय गोपाल कार्की, रुपन्देही स्थायी घर भई काठमाडौँ बस्दै आएका ३० वर्षीय विजय पोखरेल, सिन्धुपाल्चोक बाह्रबिसे–४ का २८ वर्षीय निर्मल खड्का, महोत्तरी रामगोपालपुर–९ का २९ वर्षीय नानीपथ मण्डल, सप्तरी बोदेबर्साइन–७ का २९ वर्षीय जीवनकुमार यादव, सप्तरीकै अग्निसाइर कृष्णसवरण–५ का २६ वर्षीय महेश यादव, गोरखाको भीमसेनथापा गाउँपालिका–१ का ३२ वर्षीय मीनप्रसाद भट्ट, गोरखाकै गण्डकी गाउँपालिका–३ का ३१ वर्षीय भरत पन्त, गोरखा नपा–४ का २६ वर्षीय विकास खड्कालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।
प्रहरी उपरीक्षक खड्काका अनुसार विराटनगरका कोमलप्रसाद गौतम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत छन् । उनले नै प्रश्नपत्र फोटोकपी गरेका थिए । फोटोकपी गर्ने क्रममा प्रश्न हातले लेखेर चोरी गरेका थिए । प्रश्नपत्र आउट प्रकरणमा अन्य विद्यार्थी र कर्मचारी पनि संलग्न हुनसक्ने प्रहरीको आशंका छ । ‘प्रारम्भिक अनुसन्धानका क्रममा १० जना पक्राउ परेका छन्,’ उनले भने, ‘अनुसन्धान जारी भएकाले अन्य विषय पनि खुल्छन् ।’ पक्राउ परेकाहरुलाई शिक्षा ऐन २०२८ अनुसार म्याद थप गरी प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!