रतुवामाई, २२ वैशाख । वैदेशिक रोजगारमा डेढ दशक पसिना बगाएर स्वदेश फर्किएका कार्की दाजुभाइले मोरङको रतुवामाई–८ झुनावारीमा सात करोड २५ लाख रुपियाँ लगानी गरी बहुउदेश्यीय कृषि फार्म सञ्चालनमा ल्याएका छन् ।
झुनाबारीको दुई बाली धान फल्ने नौ विगाहा खेत प्रति बिघा ४२ लाख रुपियाँका दरले खरिद गरेर उहाँहरूले सोही जग्गामा कृषि तथा पशुपालन उद्यम सुरु गरेका हुन् ।अहिले एक हजार बङ्गुर, छसय बोयर बाख्रा, छसय टर्की, दुईसय स्थानीय कुखुरा, छसय कडकनाथ पाल्न सकिने गरी अलग अलग बिशाल गोठ निर्माण भइरहेका छन् ।
गत वर्ष काम सुरु गरेपछि देशमा सुरु भएको बन्दाबन्दीले उनीहरूलाई ६ महिना पछि थकेल्यो । बङ्गुरका पाठा गोठमा हाल्न ढिलो भयो । यतिबेला सम्ममा पाठा पाठी उत्पादन गरेर बजार पठाउने लक्ष्य थियो । तर, गोठको संरचना बनाउन बन्दाबन्दीले पाइएन भने पाठापाठी सप्लायर्सले पाठापाठी पनि दिन सकेन । सञ्चालक शैलेन्द्र कार्कीले भने, ‘अष्ट्रेलिया र दक्षिण अफ्रिकाबाट शत प्रतिशत बोयर बाख्रा र बोका माग गरेका थियौं । बन्दाबन्दीका कारण सप्लायर्सले ल्याइदिन सकेन ।’
त्यस्तै एक विगाहा जग्गामा दुई वटा माछा पोखरी निर्माण गरिएको छ । पोखरीमा विभिन्न ६ प्रजातिका माछा हालेको सञ्चालक शैलेन्द्र कार्कीले बताए । १० वर्ष भारतमा होटल ब्यवसाय गरेर फर्कनु भएका कार्कीले भने,फेरि भारत नफर्किने निर्णय गरें । दाजुभाइ मिलेर कृषि र पशुपालनका क्षेत्रमा रोजगार सिर्जना गर्ने गरी ब्यावसाय थालेका हौं ।
उनका भाइ टेकराज कर्कीले १२ वर्ष न्युजिल्याण्ड बसेर कमाएको सबै पैसा कृषि उद्यममा लगानी गरेका छन् । उनले भने, ‘३ वर्ष भित्र १२ करोड लगानी पुर्याउने र वार्षिक एक करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य छ ।’
टेकराज र शैलेन्द्रसँगै साइला भाइ सुमन कार्कीले पनि कृषि र पशुपालनबाटै आर्थिक रुपमा समृद्ध बन्ने सपना देखेका छन् । ११ वर्ष दुवई ,कतार र मलेसिया बसेपछि उहाँको वैदेशिक रोजगारको यात्रामा पूर्णविराम लागेको छ । उनले भने, ‘विदेशमा दैनिक १४ घण्टा सम्म काम गरियो । स्वदेशमा त्यति नै समय लगानी गर्दा यहीँ दुई-चार लाख कमाउन सकिन्छ होला ।’
उनले विदेशमा कमाएको सबै पैसा बहुदेश्यीय कृषि फर्ममा लगानी गरेको बताए । गतवर्षको माघमा फर्म दर्ता गरेर ब्यवसाय सुरु गरेका कार्की दाजुभाइलाई उनीहरूका मामा राजेन्द्र बुढाथोकीले समेत साझेदारको रुपमा सहयोग गरेका छन् । बुढाथोकी पनि आठ वर्ष साउदीअरवमा पसिना बगाएर फर्किएका हुन् ।






