खलङ्गा, २७ वैशाख । जुम्लामा नेपालकै सबैभन्दा ठूलो स्याउ बगैँचा स्थापना गरिएको छ । बगैँचामा करिब ३० हजार स्याउका बिरुवा एकै पटक रोप्ने अभियान सुरु गरिएको छ । गुठीचौर गाउँपालिका–५, काडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा स्थापना भएको हो ।
गुठीचौर एग्रो फार्म प्रालिका अध्यक्ष मीनबहादुर भण्डारीले उच्च घनत्व जातको आधुनिक स्याउ बगैँचा स्थापना गरेका हुन् । झन्डै आठ करोड रुपियाँ लगानी रहेकामा पाँच करोड बैङ्कको र तीन करोड फार्मको रहेको छ ।
बगैँचामा स्याउ रोप्न कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, स्याउ सुपरजोन कार्यालयका प्रमुख नवराज भण्डारी आएका थिए ।
बगैँचाका लागि २५ हजार बिरुवाको व्यवस्थापन किसान आफैँले र बाँकी पाँच हजार ५० प्रतिशत अनुदानमा सरकारले सहयोग गरेको छ । स्याउ सुपरजोन कार्यालयले पाँच हजार स्याउ बिरुवा ५० प्रतिशत अनुदानमा सहयोग गरेको कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए ।
उनका अनुसार अर्को वर्ष २० हजार रोप्ने योजना छ । गत वर्षको चैतदेखि नै बगैँचा स्थापनाको तयारी थालिएको थियो । बन्दाबन्दी अवधिभर बगैँचाको पूर्वाधार निर्माणदेखि बिरुवा रोप्ने तयारीसम्मका क्रियाकलाप भए पनि रोप्न पाइएको थिएन ।
३० वर्षका लागि ८६ जना किसानबाट लिजमा दिएको एक लाख ५० हजार वर्गमिटर जग्गामा पूर्वाधारसहितको सुविधा सम्पन्न स्याउ बगैँचा निर्माण भएको छ । बगैँचामा एक दिनमा डेढ सयदेखि अढाई सयसम्म कामदारले रोजगारी पाएका छन् ।
एक जना आयोजना प्रमुख, लेखापाल दुई जना, ओभरसियर एक जना, स्टोर किपर दुई जना, हेल्पर १२ जना, जेटीए चार जना र चौकीदार चार जना राखिएको छ । दुई जना सहजकर्ता, तीन जना चालक र तीन जना सहचालकले पनि रोजगारी पाएका छन् ।
गाउँमै नेपालकै ठूलो बगैँचा स्थापना भएपछि स्थानीयवासी खुसी भएका छन् । उनीहरूले स्याउ बगैँचामा काम पाउनुका साथै स्याउ फलाउनको लागि प्रेरणा मिल्ने बताएका छन् ।
लगानीकर्ता मीनबहादुर भण्डारीले जडीबुटी व्यापार गर्दा कमाएको रकमले आफ्नै भूमिमा स्याउ बगैँचा स्थापना गर्न पाउँदा खुसी लागेको बताए । उनले स्याउ खेती गरेर कृषि कर्मको एक परिचय दिने लक्ष्य रहेको बताए ।




