विराटनगर, ५ जेठ । मोरङको रंगेली नगरपालिका ३ मा एक जना महिलाको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ । रङ्गेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव हत्या गरिएको अवस्थामा बुधबार बिहान फेला परेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको हो । धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको उनले बताए ।
घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा अनिताको शव फेला परेको हो । पानी नभएको सुख्खा नहरमा शव भेटिएको प्रहरीले जनाएको छ । घटनाको खबर पाएलगतै डिएसपी मञ्जिल मुकारुङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धान सुरु भएसँगै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले मृतककी श्रीमान् बेचनसहित, ससुरा, सासु र देवर विनोद यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।




