विराटनगर, ५ जेठ । प्रदेश १ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सबै निजी अस्पतालको उपचार खर्च प्रदेश सरकारले नै ब्यहोर्नुपर्ने सुझाव दिएका छन् । बुधबार पूर्वआर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका आङ्बोले सबै निजी अस्पतालको उपचार खर्च सरकारले नै ब्यहोर्नुपर्नेलगायतका आठ बुँदे सुझाव प्रदेश सरकारलाई दिएका हुन् ।
‘प्रदेश नं १ मा नै पर्याप्त अक्सिजन उत्पादन हुँदा हुँदै पनि आज अक्सिजनको अभावकै कारण प्रदेशका नागरिकहरूले ज्यान गुमाउनु परिरहेको दुःखद अवस्था छ’, उनले सुझावमा लेखेका छन्, ‘सरकारी र निजि क्षेत्रद्वारा सन्चालित कोभिड अस्पताल र अक्सिजन आइसुलेसनलाइ पर्याप्त अक्सिजनको ब्यवस्था गरेर मात्र अन्य प्रदेश निर्यात गर्ने ब्यवस्था मिलाइयोस् ।
यस्ता छन् उनका अन्य सुझावहरूः
–प्रदेश सरकारद्वारा सञ्चालित कोशी कोभिड अस्पताल, मेची प्रादेशिक अस्पतालसहित १४ वटै जिल्ला अस्पताल र अन्य सरकारी तहबाट निर्मित अस्थायी कोभिड अस्पतालहरूमा पर्याप्त अक्सिजन बेड तथा अक्सिजनलगायत अन्य आवश्यक स्वास्थ्य सामग्रीहरूको ब्यवस्था गरियोस् ।
–तीव्र गतिमा सङ्क्रमण फैलिरहेको तर पिसिआर र एन्टिजेन परीक्षणको अभावमा परीक्षणमा नै समस्या आइरहेकोले उक्त स्वास्थ्य सामग्री तत्काल ब्यवस्था गरियोस् ।
–केन्द्रीय स्वास्थ्य विभाग र दाताहरूको अनुदान सहयोगबाट प्राप्त स्वास्थ्य सामग्रीले मात्र वर्तमान समस्या समाधानको निम्ति अपर्याप्त हुने भएकोले चालू बजेटमा कोरोना नियन्त्रणको निम्ति प्रस्ताव गरिएको बजेट र आवश्यक भए थप बजेटको ब्यवस्था गरी आवश्यक स्वास्थ्य सामग्रीको पारदर्शी खरिदको ब्यवस्थापन मिलाइयोस् ।
–आर्थिक अभावको कारण सर्वसाधरण नागरिकले उपचार पाउन नसक्ने अवस्थाको अन्त्यको निम्ति सबै निजी अस्पतालमा उपचार गर्दाको खर्च प्रदेश सरकारले नै ब्यहोर्ने ब्यवस्था गरियोस् ।
–सहयोग, अनुदान वा खरिदबाट प्राप्त स्वास्थ्य सामग्रीको समुचित वितरण होस्, सरकारसम्बद्ध ब्यक्ति र पहुँचको आधारमा भइरहेको अनियमित वितरण तत्काल बन्द गरियोस् ।
–कोरोना महामारी नियन्त्रणमा खट्ने डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीहरूको मनोबल उच्च राख्न भएका घोषणा र ब्यवस्थापनको प्रभावकारी कार्यावन्यन गरियोस् ।
–सङ्कटको बेला समेत भइरहेको कालोबजारी र महङ्गी नियन्त्रणमा सरकारी तदारुकता देखियोस ।




