२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ६ जेठ । विराटनगरस्थित कोशी अस्पताल विराटनगरले ३२ शय्याको आइसोलेसन आजबाटदेखि सञ्चालनमा ल्याउने भएको छ । अस्पतालका सुपरीवेक्षक डा चुमनलाल दासले कोरोना सङ्क्रमित गम्भीर प्रकारका बिरामीको उपचारका लागि २५ वटा एचडियु र पाँच वटा आइसियुसहितको बेड भएको आइसोलेसन आजबाट सञ्चालनमा ल्याइने जानकारी दिए ।

यस्तै उनले अस्पतालमा अक्सिजनको कमी नरहेको र दैनिक फिभर क्लिनिकमा आउने ५० प्रतिशत भन्दा बढी बिरामी कोरोना सङ्क्रमित रहेको जानकारी दिए । अहिले अस्पतालमा ८० वटा अक्सिजन सिलिण्डर रहेको र थप व्यवस्थापन भइरहेको जानकारी दिँदै सुपरीवेक्षक डा दासले गएको वर्षमा सञ्चालनमा ल्याएको ९६ शयया कोभिड अस्पतालमा अहिले बिरामी भरिएको जानकारी दिए ।

सो अस्पतालमा अहिले सबै शय्यामा अक्सिजन सहितको सिलिण्डर रहेको जानकारी दिँदै सुपरीवेक्षक डा दासले कोरोना महामारीबाट बच्न र बचाउन सबैले भौतिक दूरी कायम गर्नुपर्ने, स्वास्थ्य आचार संहिता पालना गर्नुपर्ने, अनावश्यक घरबाहिर डिँड्डुल गर्न नहुनेमा जोड दिए ।

मोरङ र सुनसरीमा अक्सिजनको अभाव छैन

कोरोना उपचारमा आवश्यक पर्ने अक्सिजनको मोरङमा कमी नरहेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । उनले मोरङका प्रत्येक पालिकाले आइसोलेशन बनाएर बिरामीको उपचारमा निकै मद्दत पुगेको छ भने ।

मोरङको सुन्दरहरैचाले सबैभन्दा आगाडि १५० अक्सिजन सिलिण्डरको व्यवस्था गरेको छ । “मोरङमा अरुण–३ बाट १७० र आफ्नौ प्रयासले १४० अक्सिजन सिलिण्डर व्यवस्थापन गरेर कोरोना प्रभावित बिरामीहरुको उपचारमा मद्दत गर्दै आएका छौँ ”, उनले भने ।

यस्तै, सुनसरीमा कोशी र भोक्राहा गाउँपालिकाबाहेक सबै पालिकामा आइसोलेसन तयार रहेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । उनले सबै पालिका गरी सुनसरीमा ७२५ अक्सिजनसहितका शय्याको आइसोलेशन रहेको छ भने ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले १०० शय्याको क्वारेन्टिन बनाएको र अहिलेसम्म सुनसरीमा अक्सिजनको कमी नरहेको उहाँको भनाइ थियो । यहाँबाट दाङ, महोत्तरी, जनकपुर, सप्तरी र भैरहवासम्म अक्सिजन पठाएको उनको भनाइ थियो ।

सुनसरीमा दुहवीस्थित अक्सिजन उत्पादक वीणायक र खनारस्थित दुर्गा र पाथीभरा उद्योगबाट आपूर्ति भइरहेको पोखरेलले बताए । जिल्ला समन्वय समिति सुनसरीका संयोजक गोपाल राजभण्डारीले कोरोना सङ्क्रमितको उपचारमा कुनै गुनासो आउन नदिन गम्भीर रुपमा व्यवस्थापन र काम भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!