
सुन्दरहरैँचा, ६ जेठ । मोरङको सुन्दरहरैँचा नगरपालिकाकी निर्मला आचार्यले प्रतिकिलो २०० रुपैयाँका दरले १६ किलो धानको बिउ किनिन् । अधियाँमा १३ कठ्ठा खेत गरेकी उनले ३२०० रुपैयाँ हालेर बिउ किनेकी हुन् ।
अघिल्लो वर्ष नगरपालिकाबाट अर्धअनुदानमा धानको बिउ ल्याएकी उनले यसपटक भने हाइब्रिड जातको धान रोप्ने निधो गरेर त्यसैअनुसारको बिउ किनेकी हुन् । कोरोना महामारीका कारण लकडाउन भएपनि मलको अभाव भएका कारण अघिल्लो पटक धान उत्पादनमा ह्रास आएको र धानमा पनि अनेक जातका किराको प्रकोप देखिएकाले हाइब्रिड रोप्न लागेको उनले बताइन् ।
अघिल्लो वर्ष उनले नगरपालिका र आफ्नो ५०–५० प्रतिशत गरे अर्धअनुदानमा ५५ रुपैयाँ किलोका दरले बिउ किनेकी उनले यस पटक उत्पादन धेरै हुने अपेक्षाका साथ हाइब्रिड धान रोप्ने मनसाय बनाएको सुनाइन् । ‘अघिल्लो पटक मलको पनि अभाव, उत्पादनमा ह्रास अनि किराको प्रकोपका कारण यसपटक हाइब्रिड रोप्न लागेकी हुँ’, उनले ग्रामीण खबरसँग भनिन्, ‘हाइब्रिड रोप्दा उत्पादनमा वृद्धि हुने हुन्छ भन्ने सुनेकी छु ।’ तर यसपटक भने हाइब्रिड धानको बिउ महँगिएको उनको गुनासो छ ।
यता, सुन्दरहरैँचा–७ गोठगाउँमा रहेको बिउबिजन पसलका सञ्चालक केदार पोखरेल लकडाउनका कारण ढुवानी गर्न असहज भएका कारण धानको बिउको दाम महँगिएको बताउँछन् । ‘भारतबाट आयात गर्दा राजश्वलगायतका कुरामा खर्च हुने डिलर बताउँछ’, उनले भने, ‘डिलरबाटै महँगो हुन्छ । फेरि लकडाउनका कारण ढुवानी महँगो भएकाले पनि बिउको दाम आकासिएको हो ।’
निर्मलाले भारतबाट उत्पादित डेल्टा रानी २८१० र ३०१ नामक धानको बिउ खरिद गरेकी छन् । दुवैथरि धानको बिउ प्रतिकिलो २०० रुपैयाँले पर्छ ।
अर्धअनुदानको बिउ पनि महँगियो
सुन्दरहरैँचा नगरपालिकाले अघिल्लो पटक ५५ रुपैयाँ प्रतिकिलोमा धानको बिउ किसानलाई अर्धअनुदानमा उपलब्ध गराएको थियो । तर यसपटक भने प्रतिकिलो सय रुपैयाँमा दिनेगरेको नगरपालिकाका कृषि शाखा प्रमुख फणिन्द्र भट्टराई बताउँछन् । उनका अनुसार बुधबारसम्म नगरपालिकाकाले १२ हजार ४०० किलो धानको बिउ किसानलाई वितरण गरेको थियो । त्यसमध्ये १७५ किलो भने १०० रुपैयाँ प्रतिकिलोका दरले अर्धअनुदान (५०–५० रुपैयाँ) ले वितरण गरेको हो भने बाँकी सबै प्रतिकिलो ६० रुपैयाँका दरले उपलब्ध गराइएको भट्टराईले जानकारी दिएका छन् ।
‘लकडाउनका कारण हाइब्रिड धानको बिउ पनि महँगो भएको हो’, उनले भने, ‘नगरपालिकाले जिटुजीमार्फत ल्याएको केही धानको मूल्य भने बढेको हो । तर, आगामी वर्षदेखि नगरपालिकाले नै उत्पादन गरेको बिउ बिक्री हुन्छ । त्यसपछि बिउ अभाव र महँगीको निराकरण हुन्छ ।’
नगरपालिकाले जुट अनुसन्धान केन्द्र इटहरी, कृषि अनुसन्धान केन्द्र तरहरा र कृषि सामग्री संस्थान इटहरीको समन्वयमा आफ्नै ढुवानीमा ल्याएको बिउ भने अर्धअनुदानमा उपलब्ध गराइएको उनको भनाइ छ । नगरपालिकाले बौगुनी, सोनासर, गरिमा, लउका, आइआर ००८, सम्भाशेर मन्सुली, कालो नुनियाँ, कान्छी मन्सुली, रामधानलगायतका धानको बिउ वितरणका गरेको हो । नगरपालिकाले जम्मा सात लाख ५१ हजार रुपैयाँको बिउ किनेको थियो ।
हाइब्रिड बिउ रोप्दा बेफाइदा
नेपालमा हाइब्रिड बिउ थाइल्यान्ड, जापान, भारतलगायत देशबाट भित्रन्छन् । हाइब्रिड धानमा मानवलाई चाहिने पौष्टिक तत्वको कमी हुन्छ । यसैगरी, माटोमा भएको खाद्य तत्व एकै पटक लिइदिने, माटोको उर्वराशक्तिमा ह्रास ल्याउनेलगायतका बेफाइदा रहेको कृषि शाखा प्रमुख भट्टराईले बताए ।
यसैले सुन्दरहरैँचाका किसानलाई आवश्यक पर्ने बिउबिजन आफैँ उत्पादन गर्ने हिसाबले नगरपालिकाले ११ नं वडामा रहेको साना किसान सहकारीसँग सम्झौता गरी गोदाम घर बनाउँदैछ । उक्त प्रोजेक्ट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट उपलब्ध २५ लाख लगानी गरे गर्दैगरेको उनले बताए ।
यस्तै, बिउबिजन उत्पादनका लागि भने सुन्दरहरैँचा–२ मा १२ बिगाहा खेतमा एकै जातको धानको बिउ राख्न लागेको बताउँदै उनले अर्को पालिबाट चाहिँ बिउ अभावको समस्या निराकरण हुने बताए ।