
काठमाडौं, जेठ ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार बनाउन १५३ सांसदको सूचीसहित राष्ट्रपति कार्यालयमा दावी पेश गरेका छन् । उता विपक्षी दलका नेताहरु पनि १४९ को हस्ताक्षर लिएर शीतल निवास पुगेको खवर छ ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईकाअनुसार नेकपा (एमाले) बाट १२१ जना सांसद र जनता समाजवादी पार्टी (जसपा) नेपालका ३२ सांसदसहित १५३ सांसदको दावी पेश गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपदफा ५ अनुसार बैकल्पिक सरकार गठनको विहिबार साँझ आव्हान गरेकी थिइन् । आज साँझ ५ बजेसम्म समयसीमा दिइएको भएपनि समय अगावै नै प्रधानमन्त्री ओलीले सो दावी गरेर शीतल निवासबाट बालुवाटार फर्किसकेकाे डा. भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले दावी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दलबलसहित शीतल निवास पुगेका थिए ।
नेता माधवकुमार नेपाल पक्षका २७ जनाको हस्ताक्षरसहित देउवा शीतल निवासमा दावी पेश गर्न गएको भनिए पनि एमालेको सांसदहरुले आफूहरुलाई जानकारी नै नदिई हस्ताक्षर दुरुपयोग गरिएको प्रतिक्रिया दिएका छन् । उनीहरुको तर्फबाट विज्ञप्ती जारी गर्ने तयारी पनि गरिएको एमाले स्रोतले बताएको छ ।