इनरुवा, १० जेठ । सुनसरीको इनरुवामा बालिकामाथि बलात्कार प्रयासको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामधुनी नगरपालिका-८ घर भएका ३५ वर्षीय युवक छन् ।
इनरुवा नगरपालिका ८ स्थित बङ्कुलबा पूर्वी टोलबाट प्रहरीले आफ्नै श्रीमतीका पहिलो श्रीमानतर्फकी छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाका अनुसार अभियुक्तमाथि जेठ ५ गते राति आफ्नी आमालाई भेट्न आई आमासँगै सुतेकी ९ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोप छ ।
अभियुक्त इनरुवा नगरपालिका ३ मा डेरा गरी बस्दै आएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय डुम्राहाको टोलीद्वारा आज बिहान पक्राउ गरिएका उनलाई जिल्ला अदालतको आदेशमा हिरासतमा राखी मुलुकी अपराध संहिता २०७४ अनुसार मुद्दा चलाउन अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।




