२०८२ चैत्र २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ११ जेठ । सुनसरीका पाँच राजनीतिक पार्टीले संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने राष्ट्रपतिको निर्णयको घोर भर्त्सना गरेका छन् । सोमबार संयुक्त वक्तव्य जारी गर्दै नेपाली काङ्ग्रेस, नेकपा माओवादी, नेकपा एमाले, जसपा नेपाल र संघीय लोकतान्तित्रक राष्ट्रिय मञ्चले राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटन गर्ने निर्णयविरुद्ध एकै आवाज उठाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष विश्वासको मत दिन नसक्ने लिखित पत्र दिएपछि समयसीमा तोकिएको अवस्थामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित सरकार गठन गर्न सक्छौँ भन्दा पनि राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको मर्म र भावनाविपरीत संसद विघटन गर्ने निर्णय भएको वक्तव्यमा उल्लेख छ ।

‘केपी ओलीले विश्वासको मत लिनुपर्नेमा ओलीले मन्त्रिपरिषदबाट निर्णय गराई राष्ट्रपतिसमक्ष म विश्वासको मत लिन सक्दिनँ भनी लिखित रूपमा दिएपछि राष्ट्रपतिबाट २१ घण्टे समयसीमा तोकिएको थियो’, वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपतिले तोकिदिएको समयसीमामै काङ्ग्रेस सभापति शेरबहादुर देउवा १४९ सभासदको हस्ताक्षरसहित सरकार गठन गर्न सक्छौँ भनी राष्ट्रपतिसमक्ष पुग्दा उहाँले केपी ओलीको १५३ सभासदको नाम पेश गरी निवेदन परेको भन्ने बाहना बनाई संविधानको मर्म र भावनाविपरीत संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकेको विषयमा हामी घोर भर्त्सना गर्दछौँ ।’

सुनसरी काङ्ग्रेस सभापति राजीव कोइराला, नेकपा माओवादी सुनसरी जिल्ला अध्यक्ष योगेन्द्र मण्डल ‘पप्पु’, नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत, जसपा नेपाल सुनसरीका अध्यक्ष भगीरथ खत्व र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध स.लि मञ्चका अध्यक्ष अम्बर इजमले संयुक्त वक्तव्य जारी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!