
इटहरी, ११ जेठ । इटहरी उपमहानगरपालिकाले समुदायस्तरमै पुगेर एन्टिजेन्ट परीक्षण गर्न थालेको छ । नगरक्षेत्रभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नेक्रम कायमै भएका कारण समुदायस्तरमै गएर एन्टिजेन्ट परीक्षण गर्न थालिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।
परीक्षणको दायरा बढाएर हाल सय बढीको परीक्षण थालिएको र त्यसलाई अझ बढाउन प्रयास भइरहेको जानकारी दिँदै उनले कोरोना रोकथाम र नियन्त्रणमा जुटन सबैपक्षसँग आग्रह गरिएको बताइन् ।
मङ्गलबार उपमहानगरपालिकाले सर्वपक्षीय छलफल आयोजना गरेरको थियो । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा स्वास्थ्य सर्तकता पालन गरेर भएको छलफलमा इटहरी उपमहानगरद्वारा कोरोना रोगथाम र नियन्त्रणमा अहिलेसम्म गरिएका कार्यका बारेमा जानकारी गराइएको थियो ।
वास्थ्य शाखाका विकास पौडेलले महामारी नियन्त्रणमा टेस्टिङ्ग, कन्ट्राक ट्रेसिड, आइसोलेसन र उपचार रणनीति अवलम्वन गरिएको जानकारी दिए । बैठकमा नेकपा एमाले इटहरी अध्यक्ष याम सुव्वा, नेपाली काङ्ग्रेस नगर सभापति हेमकर्ण पौडेल, नागरिक समाजका अध्यक्ष सन्त डुम्जन, पूर्वअध्यक्ष कमलेश पौडेल, रेडक्रस सभापति विमल पौडेल, मुक्तिधाम ब्यवस्थापन समितिका अध्यक्ष हेम घिमिरेले सुझाव प्रस्तुत गरेका थिए ।
छलफलमा पिसिआर परीक्षण गर्ने मेसिन खरिदका लागि सहयोग गर्ने त्यसको सञ्चालन र ब्यवस्थापन उपमहानगरले गर्नुपर्ने प्रस्ताव गरिएको छ । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले सो को प्राविधिक पक्ष अध्यन गरेर आवश्यक निर्णय लिइने बताए ।
वडा नम्वर ४ का अध्यक्ष चन्द्र भट्टराई र वडा नम्वर ६ का अध्यक्ष दीपक गौतमले कोरोना रोगथाम र नियन्त्रणमा वडामा भइरहेका कार्यका बारेमा जानकारी दिएका थिए ।